एप्पलले स्मार्ट डोरबेल निर्माणमा काम गरिरहेको हुन सक्ने

Technology Khabar ९ पुष २०८१, मंगलवार

काठमाडौं ।

एप्पलले ग्राहकहरूको घरभित्र आफ्नो उपस्थिति विस्तार गर्न प्रयासरत रहेको चर्चा भइरहेका बेला उक्त रणनीतिमा स्मार्ट डोरबेलको समावेश पनि हुन सक्ने ब्लूमबर्ग को नयाँ रिपोर्टले बताएको छ।

यो डोरबेलले एप्पलको फेसआईडी प्रविधिको प्रयोग गरी ढोकातर्फ आउने व्यक्तिको अनुहार स्क्यान गर्नेछ। त्यसपछि, यो वायरलेस रूपमा डेडबोल्ट लकसँग जडान भएर घरका सदस्यहरूका लागि ढोका स्वतः खोल्न सक्ने टेकक्रञ्चले उल्लेख गरेको छ।

रिपोर्टअनुसार यो डोरबेल विकासको प्रारम्भिक चरणमा छ र २०२५ को अन्त्यभन्दा अगाडि बजारमा आउन असम्भावित छ। यो उपकरण एप्पलको होमकिट अनुकूल तेस्रो पक्षका लकहरूसँग काम गर्न सक्छ, वा एप्पलले कुनै विशेष लक निर्माता कम्पनीसँग सहकार्य गरेर यो उत्पादन सार्वजनिक गर्न सक्छ।

ब्लूमबर्गका अनुसार फेसआइडी प्रयोग गर्ने स्मार्ट डोरबेलले एप्पललाई अमेजनको रिङजस्ता उत्पादनहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ। तर यदि यो प्रणाली घरमा हुने चोरीजस्ता घटनाहरूको लागि दोषी ठहरियो भने यसले ब्रान्डलाई नयाँ जोखिममा पार्न सक्ने टेकक्रञ्चले उल्लेख गरेको छ।

प्रकाशित: ९ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया