Technology Khabar ९ पुष २०८१, मंगलवार
काठमाडौं ।
जापानको फेयर ट्रेड कमिसन (जेएफटीसी) ले गुगललाई देशको प्रतिस्पर्धा कानुन उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गर्दै चाँडै नै सीज एन्ड डिजिस्ट आदेश जारी गर्ने अपेक्षा गरिएको निक्केई एसियाले आइतबार स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
रिपोर्टका अनुसार जेएफटीसीले गुगललाई यसको एकाधिकार अभ्यास रोक्न आदेश दिनेछ। गुगलले तुरुन्तै कुनै प्रतिक्रिया दिएको छैन भने जेएफटीसीसँग पनि टिप्पणीका लागि सम्पर्क हुन सकेको छैन।
गत अक्टोबरमा जेएफटीसीले गुगलको वेब सर्च सेवामा प्रतिस्पर्धा विरोधी गतिविधिहरूको सम्भावित उल्लङ्घनका लागि अनुसन्धान सुरु गरेको थियो। युरोप र अन्य प्रमुख अर्थतन्त्रका निकायहरूले पनि यस्तै कदम चालेका थिए।
क्रोम वेब ब्राउजर विश्वकै सबैभन्दा धेरै प्रयोग हुने ब्राउजर हो र गुगलको व्यवसायको महत्त्वपूर्ण हिस्सा हो। यसले प्रयोगकर्ताहरूको जानकारी संकलन गरेर कम्पनीलाई विज्ञापनहरू अझ प्रभावकारी र नाफामूलक रूपमा लक्षित गर्न मद्दत पुर्याउने रोयटर्सले उल्लेख गरेको छ।
गत महिनामा, अमेरिकी न्याय विभागले न्यायाधीशसमक्ष गुगलकी मूल कम्पनी अल्फाबेटलाई क्रोम ब्राउजर त्याग्न र पाँच वर्षका लागि ब्राउजर बजारमा पुनः प्रवेश गर्न नदिनुपर्ने तर्क प्रस्तुत गरेको थियो, जसको उद्देश्य गुगलको सर्च एकाधिकार अन्त्य गर्नु थियव।
प्रकाशित: ९ पुष २०८१, मंगलवार