इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध

  • Technology Khabar | ७ पुष २०८१, आईतवार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध

काठमाडौं ।

संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा तेहरानले औपचारिक रूपमा विरोध जनाएको छ।

अमेरिकी अभियोजनकर्ताले मेहदी मोहम्मद साडेघी र मोहम्मद अबेदिनिनाजाफाबादीलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्ध कानूनको उल्लङ्घन गर्दै संयुक्त राज्य अमेरिकाबाट इरानमा अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू निर्यात गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

अवैध रूपमा निर्यात गरिएको यो प्रविधि जनवरीमा जोर्डनमा भएको ड्रोन आक्रमणमा प्रयोग गरिएको थियो जसमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो।

इरानले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै उक्त दाबीलाई ‘आधारहीन आरोप’ भन्दै खण्डन गरेको छ ।

विदेश मन्त्रालयका अधिकारी वाहिद जलालजादेहले भने, “इरानविरुद्ध अमेरिकाले लगाएको क्रूर र एकपक्षीय प्रतिबन्ध र गिरफ्तारी सबै अन्तर्राष्ट्रिय कानून र मापदण्डविपरीत छ।”

उनले भने, “मन्त्रालयले तेहरानमा अमेरिकी हितको प्रतिनिधित्व गर्ने इटालियाली कार्यवाहक राजदूत र तेहरानका लागि स्विस राजदूतलाई सोधपुछका लागि बोलाएको छ।”

संयुक्त राज्य अमेरिकाको अनुरोधमा इटालियाली अधिकारीहरूले ३८ वर्षीय अबेदिनिनाजाफाबादीलाई सोमबार इटालीमा पक्राउ गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

अमेरिकामा पक्राउ परेका ४२ वर्षीय अमेरिकी–इरानी नागरिक साडेघी भएको पहिचान गरिएको छ। रासस/एएफपी

प्रकाशित: ७ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...