एक वर्षभित्रै राहदानी नेपालमै छापिन्छ, नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छौं-सञ्चारमन्त्री गुरुङ

  • Technology Khabar | ७ पुष २०८१, आईतवार
एक वर्षभित्रै राहदानी नेपालमै छापिन्छ, नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छौं-सञ्चारमन्त्री गुरुङ
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात देशभित्रै छापिने उल्लेख गरेका छन्। मन्त्री गुरुङले राहदानीलगायतका सरकारी कागजात देशभित्रै छाप्ने तयारीमा सरकार रहेको जानकारी दिए।

बराह माध्यमिक विद्यालय माछापुच्छे-६, कास्कीमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय सुरक्षा र खर्च कटौतीका लागि पनि यसो गर्नु जरुरी रहेको औँल्याए।

“धेरैजसो सरकारी कागजात र परिचयपत्र विदेशमा छापिने गरेका छन्। अबको एक वर्षभित्रै पासपोर्ट (राहदानी) नेपालमै छाप्छौं,” उनले भने, “नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छौं।”

मन्त्री गुरुङले सञ्चार मन्त्रालय देशभर गुणस्तरीय इन्टरनेट, नेपाल टेलिभिजन र रेडियो नेपालको पहुँच पुयाउन लागिपरेकोसमेत जनाए। पहिले लहडका भरमा बिद्यालयहरू खोलिँदा अहिले अनेक समस्या आएको उनको भनाई छ।

“अध्ययन नगरी, पछि आउन सक्ने बसाइँसराइबारे नसोची स्कुल खोलिए, अहिले पूर्वाधार छन्, विद्यार्थी छैनन्, ” उनले थपे, “अब सरकारी विद्यालयहरूले पनि स्कुल बसको सुविधा र छात्रावास सुरु गर्नु पर्छ। हरेक गाउँमा स्कुल चल्ने अवस्था नहुँदा छात्रावास र बस अनिवार्य हुँदै गएको छ।”

नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारसहित सबैजसो क्षेत्रमा समस्या रहेको औँल्याउँदै उनले ती समस्या सुल्झाउँदै विकास र प्रगतिको पथ पहिल्याउन लागिएको उल्लेख गरे। उनले भने, “शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा आमूल परिवर्तन गर्नैपर्ने छ। अब शिक्षित बेरोजगार उत्पादन गर्ने होइन, सिप भएको क्षमतावान र प्रतिस्पर्धी जनशक्ति तयार गर्न लाग्नुपर्छ।”

२०२४ सालमा स्थापना भएको बराह माविले कक्षा ११-१२ मा भेटेरिनरी अध्यापन गराउने गरेको छ। विद्यालयका अध्यक्ष आशमान रोकाले ग्रामीण क्षेत्रका विद्यालयलाई टिकाउन सरकार र अभिभावकको बलियो साथ चाहिनेमा जोड दिए। यहाँ सञ्चालित भेटेरिनरी शिक्षालयको रजत महोत्सवसमेत शनिबारै सुरुवात गरिए‌को छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ७ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...