Technology Khabar ५ पुष २०८१, शुक्रबार
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री विद्या भट्टराईले मुलुकको समृद्धिका लागि अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्ने धारणा राखेकी छिन्।
नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठानको ४२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहमा प्रतिष्ठानका सहकुलपतिसमेत रहेकी मन्त्री भट्टराईले स्वदेशी ज्ञानको आधुनिकीकरणमा ध्यान केन्द्रित गर्दै जानुपर्नेमा जोड दिइन्।
“राष्ट्रको भविष्य युवा पुस्ता र उनीहरुले गर्ने नविनतम आविष्कारमा निर्भर रहन्छ, यसका लागि नेटवर्कको संयन्त्रलाई संस्थागत गर्दै शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग बढाउँदै जानुपर्छ”,
उनले भनिन्।
मन्त्री भट्टराईले विगत चार दशकदेखि मुलुकको विज्ञान र प्रविधिको क्षेत्रमा प्रतिष्ठानको योगदान अतुलनीय रहेको उल्लेख गरिन्। उनले विभिन्न रोग निवारण, फोहर व्यवस्थापन, वनस्पति अनुसन्धान, जलवायु परिवर्तनलगायत विषयमा प्रतिष्ठानले हासिल गरेको उपलब्धिले मुलुकको दिगो विकासमा टेवा पुर्याएको बताइन्।
उनले प्रतिष्ठानको उद्देश्य प्राप्त गर्नका लागि समन्वय र सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिष्ठानले विज्ञान र प्रविधिमार्फत मुलुकलाई उज्यालो भविष्य तिर डोहोर्याउने विश्वास व्यक्त गरिन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले विज्ञान र खोजको क्षेत्रमा प्रतिष्ठान र राष्ट्रिय योजना आयोगले सहकार्य गर्नुपर्नेमा जोड दिँदै यसका लागि नीतिगत तहमा विशेष व्यवस्था गर्न आवश्यक छलफल गर्नुपर्ने बताए।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बाले मन्त्रालयबाट प्राप्त सहयोग र समन्वयको निमित्त मन्त्रालय र मन्त्रीप्रति कृतज्ञता व्यक्त गरे। साथै आगामी दिनमा साथ र सहयोगको अपेक्षा राखेको बताए।
समारोहमा विज्ञान र प्रविधिको क्षेत्रमा विशेष खोज तथा अनुसन्धानमा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा कर्मचारी गरी ५५ जनालाई पुरस्कृत गरिएको थियो।
समारोहमा प्रकृति संरक्षण पुरस्कारबाट वन तथा वातावरण मन्त्रालयका कर्मचारी रमेशबहादुर बस्नेतलाई रु दुई लाखसहित पुरस्कृत गरिएको थियो। त्यस्तै रु एक लाख राशिको विज्ञान पुरस्कार डा देवराज जोशी र प्रविधि क्षेत्रको पुरस्कार डा दीपेन्द्र पराजुलीलाई प्रदान गरिएको छ।
त्यस्तै विज्ञान तथा प्राविधि युवा पुरस्कार डा सुनिल श्रेष्ठ, डा राजकुमार थापा र डा बालकुमार ओलियालाई प्रदान गरिएको छ। विज्ञान तथा प्रविधि पुरस्कार त्रिचन्द्र क्याम्पसका डा ज्योति गिरीले प्राप्त गरेका छन्। विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार र प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार क्रमशः सौगात बोलखे र डा हरि पौडेलले प्राप्त गरे।
विज्ञान शिक्षक पुरस्कार क्रमशः गलैनाथ माध्यमिक विद्यालय दार्चुलाका जयधन जोशी, गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटाका लक्ष्मीप्रसाद सापकोटा, श्री राष्ट्रिय माध्यमिक विद्यालय रुपैठा वेल्हीका धनेन्द्र चौधरी, श्री शिव नमूना माध्यमिक विद्यालय कावासोती, नवलपरासीका दीपक विष्ट र शारदा माध्यमिक विद्यालय भेरी गङ्गा, सुर्खेतका जितेन्द्र वलीले प्राप्त गरेका छन्। यी पुरस्कारको राशि रु ७५ हजार रहेको छ। त्यस्तै विभिन्न विधामा देशभरिबाट ४० जना व्यक्तित्वहरु पुरस्कृत भएका छन्।-रासस
प्रकाशित: ५ पुष २०८१, शुक्रबार