Technology Khabar ४ पुष २०८१, बिहीबार
काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्विर केही दिन अगाडि सामाजिक सञ्जालमा सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले उक्त अनधिकृत तस्बिर हाल चालू रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण कसूरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्नेगरी डा. निकोलश भुषालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको जानकारी दिएको छ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लङ्घन गरी अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारबाही गरिने प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए।
‘नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछ। गोपनीयता कायम राख्नुपर्ने विषयमा संवेदनशिल रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ४ पुष २०८१, बिहीबार