दोस्रोपटक उपकरण जफत गरिएपछि भारतमा स्टारलिंक सेवा सक्रिय छैन: मस्क

Technology Khabar ४ पुष २०८१, बिहीबार

काठमाडौं ।

अर्बपति ईलन मस्कले भारतमा स्टारलिंक उपग्रह इन्टरनेट सेवा सक्रिय नरहेको स्पष्ट पारेका छन्। यो टिप्पणी उनले पछिल्लो हप्ताहरूमा भारतमा स्टारलिंकका दुई उपकरणहरू जफत गरिएपछि गरेका हुन्। तीमध्ये एउटा सशस्त्र संघर्ष क्षेत्रमा र अर्को लागूपदार्थ तस्करी घटनामा फेला परेका थिए।

स्टारलिंक अहिले भारतमा उपग्रह इन्टरनेट सेवा प्रदान गर्नको लागि अनुमति लिने प्रक्रियामा छ। कम्पनीले यसक्रममा सम्भावित सुरक्षा चासोहरूको समाधान गर्न प्रयास गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।

मस्कले मंगलबार राति एक्स (पूर्व ट्विटर) मा लेखेका थिए,
” स्टारलिंकका उपग्रह किरणहरू भारतमा बन्द छन्, र पहिले कहिल्यै सञ्चालनमा आएका थिएनन्।”

उनको यो प्रतिक्रिया भारतीय सेनाले मेघालय राज्यको मणिपुरमा १३ डिसेम्बरमा गरेको खोजी अभियानको सम्बन्धमा थियो। भारतीय सेनाको पोस्टमा जफत गरिएका हतियारहरूको तस्बिरसहित स्टारलिंकको लोगो भएको उपग्रह डिश र रिसिभर देखाइएको थियो।

तस्करी र सुरक्षा घटनाहरू

यसै महिनाको सुरूमा, भारतीय प्रहरीले स्टारलिंकलाई कानूनी नोटिस पठाउँदै समुद्रमा ४.२ अर्ब डलर मूल्यको मेथाम्फेटामाइनसहित समातिएका तस्करहरूबाट फेला परेको उपकरणको खरीद विवरण माग गरेको थियो।

प्रहरीले तस्करहरूले उक्त इन्टरनेट उपकरण नेभिगेसनको लागि प्रयोग गरेको हुनसक्ने आशंका गरेको छ। स्टारलिंकका यी घटनाहरूले भारतमा यसको सञ्चालन स्वीकृतिको प्रक्रियामा थप चुनौती खडा गरेको देखिन्छ।

प्रकाशित: ४ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया