जापानी सानो प्रक्षेपण यान काइरोसको दोस्रो उडान असफल

Technology Khabar ४ पुष २०८१, बिहीबार

काठमाडौं ।

डिसेम्बर १७ को प्रक्षेपणपछि करिब दुई मिनेटमै नियन्त्रण गुमाउँदा जापानी सानो प्रक्षेपण यान काइरोसको दोस्रो उडान असफल भएको छ।

स्पेसपोर्ट केआईआईबाट राति ९ बजे (पूर्वी समय) प्रक्षेपण गरिएको यस यानले प्रारम्भिक चरणमा सामान्य रूपमा उडान गरिरहेको देखिन्थ्यो। तर, दुई मिनेटपछि भिडियो फुटेजले यानको नियन्त्रण गुम्दै र आकाशमा घुम्ती (कर्कस्क्रू कन्ट्रेल) बनाउँदै गरेको देखायो।

स्पेसन्युज डटकमका अनुसार काइरोस यान निर्माण गर्ने कम्पनी स्पेस वनले आफ्नो आधिकारिक वक्तव्यमा प्रक्षेपण असफल भएको स्वीकार गर्दै क्षमायाचना गरेको छ।

“मिशन पूरा गर्न असफल हुँदा हाम्रो ग्राहकहरू र सहभागी सबैलाई निराश पारेकोमा हामी क्षमाप्रार्थी छौं,” कम्पनीले भनेको छ। कम्पनीले प्राविधिक समस्या छिट्टै अनुसन्धान गरी अर्को प्रयास गर्ने प्रतिवद्धता जनाएको छ।

स्थानीय समाचारअनुसार स्पेस वनका अधिकारीहरूले प्रथम चरणको नोजल वा स्थिति नियन्त्रण प्रणालीमा समस्या आउँदा असफलता भएको अनुमान गरेका छन्।

पहिलो उडानको सम्झना

यो असफलता काइरोसको पहिलो प्रक्षेपण (मार्च २०२३) को ९ महिनापछि आएको हो। पहिलो प्रक्षेपणमा यान उडानको केही सेकेन्डमै विस्फोट भएको थियो। पछि कम्पनीले प्रक्षेपण असफलताको कारण यानको स्वचालित उडान समाप्ति प्रणाली (अटोनोमस फ्लाइट टर्मिनेशन सिस्टम) सक्रिय हुनु बताएको स्पेसन्युज डटकमले उल्लेख गरेको छ।

यस पटकको पेलोड र प्रक्षेपण उद्देश्य

यस प्रक्षेपणमा ताइवानको स्पेस एजेन्सी र जापानी कम्पनीहरू लाग्रापो, स्पेस क्युबिक्स र टेरा स्पेसका पाँच साना उपग्रहहरू राखिएका थिए। साथै, एक अन्य ग्राहकको नाम गोप्य राखिएको थियो।

काइरोसले तीनवटा ठोस इन्धन चरणहरू र एक तरल इन्धनयुक्त किक चरण प्रयोग गरेर १५० केजीसम्मको पेलोडलाई सूर्य समकालिक कक्ष अर्थात् (सन सिंक्रोनस अर्बिट) वा ५०० किमी उचाइको कक्षमा पुर्‍याउन सक्षम हुने लक्ष्य राखेको छ।

अन्य प्रक्षेपण योजनाहरूमा असर

काइरोसको असफलता केही साताअघि अर्को जापानी सानो प्रक्षेपण यान एप्सिलन एसको परीक्षण विस्फोटपछि भएको हो। नोभेम्बर २५ मा जापानी अन्तरिक्ष एजेन्सी जाक्साद्वारा परीक्षण गरिएको ठोस रकेट मोटर प्रज्वलनको ४९ सेकेन्डमै विस्फोट भएको थियो। यो विस्फोटपछि जाक्साले एप्सिलन एसको पहिलो प्रक्षेपण २०२५ मार्चको अन्त्यसम्म सम्भव नहुने बताएको छ।

काइरोसको असफलताले स्पेस वन र जापानी सानो प्रक्षेपण बजारका लागि चुनौती थपिएको छ।

प्रकाशित: ४ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया