गाडीमा प्रयोग गरिएका ब्याट्री व्यवस्थापनको विवरण उपलब्ध गराउन काठमाडौं महानगरपालिकाको आग्रह

Technology Khabar ३ पुष २०८१, बुधबार

गाडीमा प्रयोग गरिएका ब्याट्री व्यवस्थापनको विवरण उपलब्ध गराउन काठमाडौं महानगरपालिकाको आग्रह
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सवारी साधनमा प्रयोग गरिएका काम नलाग्ने ब्याट्री व्यवस्थापनका लागि अपनाइएको विधि, प्रक्रिया र विसर्जन सम्बन्धी विवरण उपलब्ध गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ।

सवारी साधनहरू (विद्युतीय समेत) मा प्रयोग पश्चात काम नलाग्ने अवस्थाका ब्याट्रीहरूबाट निस्कने ठोस तथा तरल पदार्थ र ग्याँसले वातावरणीय अवस्थामा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पुर्याएको र वातावरणका लागि उपयोगी र लाभदायी वस्तुको नोक्सानी गरिरहेको उल्लेख गर्दै महानगरपालिकाले यस्तो आह्वान गरेको हो।

‘काठमाडौं महानगरपालिकाभित्र कार्य क्षेत्र भएका सवारी साधनमा प्रयोग हुने ब्याट्रीका आयात कर्ता, विक्रेता तथा प्रयोग कर्ताहरूले आफ्नो दायित्वमा रहेका काम नलाग्ने अवस्थाका ब्याट्रीहरूको सङ्कलन, भण्डारण, पुनःप्रयोग र अन्तिम बिसर्जनको विधि प्रक्रिया सम्बन्धी विवरण महानगरपालिका वातावरण व्यवस्थापन विभागमा उपलब्ध गराउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख छ।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक संरक्षण ऐन, २०७३ को परिच्छेद ७ को दफा ५१ मा फोहर व्यवस्थापनको दायित्व सम्बन्धी व्यवस्था रहेको र यसमा उल्लेख भएका दायित्व पूरा नगर्नेहरूलाई सोही ऐनको दफा ५२ बमोजिम कानुनी सजाय तथा कारबाही हुने व्यवस्था पनि रहेको छ।

ऐनमा भएको व्यवस्था हेर्नका लागि kathmandu.go.np मा गएर डाउनलोड ऐन, कानुन तथा निर्देशिका ऐनको सङ्केत चिन्ह थिचेर प्राप्त गर्न सकिने महानगरले जनाएको छ।

प्रकाशित: ३ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया