Technology Khabar २ पुष २०८१, मंगलवार
काठमाडौं ।
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी पूरा भए पनि अझै सञ्चालनमा आउन सकेको छैन।
भौतिक र प्राविधिक दुवै तयारी भए पनि नयाँ भवन हस्तान्तरण हुन नसक्दा डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिए। उनका अनुसार निर्माण कम्पनीको केहो भुक्तानी हुन बाँको रहेकाले भवन हस्तान्तरण हुन नसकेको हो।
सञ्चालनका लागि आवश्यक तयारी पूरा भइसकेको छ। हस्तान्तरण र अनुमति पाउनेबित्तिकै सञ्चालनमा आउने छ। अस्पतालनजिकै नयाँ निर्माण सम्पन्न भवनमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले एक वर्षअघि खरिद गरेर पठाइदिएको मेसिन जडान भएका डायलासिस मेसिनसहितका शय्या जडान गर्ने कार्य मन्त्रालयकै सहयोगमा भएको हो।
मिर्गौलापीडितको डायलासिस गर्दा मेसिन सञ्चालन गर्न आवश्यक पर्ने प्लान्टसमेत जडान भइसकेको र जनशक्तिलाई आवश्यक तालिमसमेत प्रदान गरिएको छ। अस्पतालका स्वास्थ्यकर्मीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमार्फत निक साइमन परियोजनाबाट तालिम लिएर फर्किसकेका छन्।
प्रदेशबाट प्राप्त चार वटा मेसिन जडान भइसकेको प्रदेशको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय मिर्गौला केन्द्रबाट थप एक/एक वटा उपकरण आइसकेपछि ६ वटा मेसिनको जडान र २० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेसँगै यो कार्य पूरा भएको छ। सेवा प्रदान गर्न एक जना फिजिसियन दुई जना मेडिकल अधिकृत र चार जना स्वास्थ्य परिचारिकाको व्यवस्थापन भइसकेको अस्पतालका प्रमुख डा खड्काले जानकारी दिए।
“सेवाशुल्क निर्धारण र निःशुल्क सेवा प्रदान गर्नेबारे कार्यविधि तयार भइरहेको छ”, उनले भने, “अब छिट्टै यो सेवा प्रारम्भ गर्ने प्रयत्न भइरहेको छ। सेवा सुरु भएपछि दोलखालगायत छिनेको जिल्लाका मिर्गौलापोडितले चरोकोटमै सहज रूपमा डायलासिस सेवा पाउने विश्वास अस्पतालले लिएको छ।”
आजको गोरखापत्रबाट
प्रकाशित: २ पुष २०८१, मंगलवार