नासाको पार्कर सोलार प्रोब अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्दै

Technology Khabar २ पुष २०८१, मंगलवार

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले यो क्रिसमसको समयमा इतिहास रच्ने तयारी गरेको छ। पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्दा अन्तरिक्ष एजेन्सीले आफ्नो सूर्य अभियानमा नयाँ कीर्तिमान कायम गर्नेछ।

मानव निर्मित अन्तरिक्ष यान हाम्रो ताराको यति नजिक पुग्न सफल हुने यो पहिलो पटक हुनेछ। यो सूर्यबाट मात्र ६० लाख १० हजार किलोमिटरको दुरीमा हुनेछ। यसको गति ६ लाख ९० हजार किलोमिटर प्रतिघण्टा हुनेछ। पार्कर सोलार प्रोबले यो गति र दूरीका साथ आफ्नै पुरानो रेकर्ड पनि तोड्नेछ।

पहिलो पटक, अन्तरिक्ष एजेन्सीले आफ्नो पार्कर सोलार प्रोब सूर्यको यति नजिक पठाउन लागेको हो। पार्कर सोलार प्रोब एउटा सानो कारको आकारको अन्तरिक्ष यान हो। यसका साथमा सूर्यको यति नजिक पुग्ने यो पहिलो मानव निर्मित प्रोब हुनेछ।

स्पेस डटकमको रिपोर्ट अनुसार, डिसेम्बर २४ मा, पार्कर सोलार प्रोबले सूर्यबाट निस्केको प्लाज्माको कणहरूलाई छेडेर अगाडि बढ्नेछ र सौर्य आँधीको एक भागबाट पनि गुज्रनेछ। यानको लागि यो समुन्द्रको छालमुनि डुबुल्की मार्नु जस्तै हुनेछ।

गत अक्टोबरमा, सूर्य आफ्नो ११ वर्षको चक्रको सबैभन्दा उच्च स्तरको आँधीमा पुग्यो। यसको अर्थ पार्कर सोलार प्रोबले आफ्नो यात्रामा शक्तिशाली सौर्य आँधीको सामना गर्नुपर्ने हुनसक्छ। यी सौर्य ज्वालाहरू एकपछि अर्को विस्फोट हुनेछन्, जसले वैज्ञानिकहरूलाई सूर्यको माथि चलिरहेको प्रक्रियाहरू बुझ्ने राम्रो मौका दिन्छ।

“हामी इतिहास बनाउने तयारीमा छौं,” परियोजना वैज्ञानिक नूर रवाफीले डिसेम्बर १० को अमेरिकन जियोफिजिकल युनियन (एजीयू) कार्यक्रमको वार्षिक बैठकमा भने, “पार्कर सोलार प्रोबले हाम्रो आँखा अगाडि हाम्रो ताराको बारेमा नयाँ वास्तविकता प्रकट गर्नेछ। यसले पठाउने डाटाको विश्लेषण गर्न हामीलाई दशकौं लाग्नेछ।”

पार्कर सोलार प्रोब सन् २०१८ मा लन्च गरिएको थियो। यसले अहिलेसम्म सूर्यको बारेमा धेरै रहस्यहरू खुलाएको छ। तिनीहरूमध्ये सबैभन्दा प्रमुख भनेको यसको कमजोर बाह्य वायुमण्डल, जसलाई कोरोना भनिन्छ, यो सूर्यको सतहबाट जति टाढा जान्छ, सयौं गुणा तातो हुन्छ।

नासा यस सौर्य अभियानलाई लिएर निकै उत्साहित देखिन्छ। आगामी दिनमा यहाँबाट सूर्यका बारेमा केही चकित पार्ने नयाँ जानकारीहरु आउन सक्छन्।

प्रकाशित: २ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया