
काठमाडौं ।
चीनको अन्तरिक्ष एजेन्सीले आगामी सन् २०३१ मा मंगल ग्रहका चट्टान र थिग्रिएका माटाका कणहरु ल्याउने योजनासहित मंगल ग्रहका नमूनाहरू पृथ्वीमा ल्याउने पहिलो संस्था बन्ने योजना बनाएको छ।
चीनको डीप स्पेस एक्सप्लोरेशन ल्याबोरेटरी र सहकार्य गर्ने संस्थाहरूले नेशनल साइन्स रिभ्यू पत्रिकाको नोभेम्बर अंकमा तियानवेन-३ को योजना प्रस्तुत गरेका छन्।
यो मिशन चीन राष्ट्रिय अन्तरिक्ष प्रशासनद्वारा सञ्चालित दुई अन्तरिक्ष यानको मंगल ग्रह ल्यान्डर मिशन हो। तियानवेन-३ का प्रमुख डिज़ाइनर जिज़ोङ लिउले सेप्टेम्बरमा एक अन्तरिक्ष अन्वेषण सम्मेलनमा यो मिशन सन् २०२८ मा प्रक्षेपण हुने योजना रहेको बताए।
स्पेस न्यूज अनुसार तियानवेन-३ मा एउटा ल्यान्डर, एउटा एसेन्ट सवारी, एउटा कक्षीय यान र एउटा रिटर्न मोड्यूल हुनेछ; यसले ल्यान्डरबाट टाढा नमूना सङ्कलन गर्नका लागि हेलिकप्टर र एउटा ६ खुट्टे रोबोट पनि प्रयोग गर्न सक्छ।
नेशनल साइन्स रिभ्यू पत्रिकामा डीप स्पेस एक्सप्लोरेशन ल्याबोरेटरीका जेंगछियन हो र चाइनिज एकेडमी अफ जियोलजिकल साइन्सका वैज्ञानिकहरूले तियानवेन-३ को ल्यान्डिङ स्थानका लागि ८६ वटा सम्भावित स्थलहरूको विचार गरेका छन्।
यी स्थलहरू प्रायः च्राइस प्लानिटिया, मंगल ग्रहको उत्तरवर्ती रेखा क्षेत्रमा स्थित समथल मैदानमा र यूटोपिया प्लानिटिया, मंगल ग्रहको सबैभन्दा ठूलो आघात बेसिनमा केन्द्रित छन् जहाँ चीनले सन् २०२१ मा एउटा रोभर अवतरण गरेको थियो।
यी स्थलहरू तियानवेन-३ मिशनको मुख्य उद्देश्यलाई मद्दत पुर्याउन सक्षम छन् जुन मंगल ग्रहमा पुरानो जीवनका प्रमाण खोज्ने रहेको बताइएको छ। यी स्थलहरू छानिनुका पछाडि यहाँ ल्यान्डिङका लागि सहज स्थलाकृतिक अवस्था रहेको साथै यहाँका चट्टान र थिग्रिएका माटाका कणहरुले सम्भवतः प्राचीन मंगल जीवनका अंशहरू संरक्षण गर्न सक्छ भन्ने प्रमुख कारण रहेको बताइएको छ।
यदि तियानवेन-३ मिशन योजनाअनुसार अघि बढेमा यसले नासा र युरोपियन स्पेस एजेन्सी (ईएसए) लाई मंगल ग्रहका चट्टानहरू पृथ्वीमा ल्याउन लगभग एक दशक अगाडि नै सक्षम बनाउनेछ। नासाले गत अप्रिलमा यसको योजना गरिएको मंगल स्याम्पल रिटर्न (एमएसआर) मिशन सन् २०३० को दशकसम्म ढिलाइ हुने घोषणा गरेको थियो।
वर्तमान योजनाअनुसार एमएसआर ल्यान्डर सन् २०३५ मा प्रक्षेपण गरिनेछ र नमूना-रिटर्न मिशन सन् २०४० मा सम्पन्न हुने लाइभसाइन्स डटकमले उल्लेख गरेको छ।
चीनको चाङ’ए-६ मिशनले हालै चन्द्रमाको पछाडिको भागबाट पहिलोपटक नमूना पृथ्वीमा ल्याएको थियो। प्रारम्भिक विश्लेषणले चन्द्रमाको पछाडिको भागमा ज्वालामुखी गतिविधिको पहिलो प्रमाण देखाएको छ जसले त्यहाँ २.८ अर्ब वर्षअघि ज्वालामुखी विस्फोट भइरहेका थिए भन्ने संकेत गर्छ।
प्रकाशित: १ पुष २०८१, सोमबार