
काठमाडौं ।
गुगल म्याप्सले बाटो भुलिनबाट जोगाउँछ भने यात्राका क्रममा आफ्नो गन्तव्यमा पुग्न पनि मद्दत गर्दछ। तर कहिलेकाहीँ प्रविधिले पनि गलत जानकारी दिन सक्छ जसले गर्दा उसको इशारामा यात्रा गर्दा गन्तव्यमा पुगिनुको साटो गलत ठाउँमा पुगेर फस्न पनि सकिन्छ।
पछिल्लो २ हप्तामा भारतमा गुगल म्याप्सको सहायतामा ढुक्क भएर नयाँ ठाउँको यात्रा गर्दा बाटो नै टुङ्गिने ठाउँमा पुगेर यात्रुहरुले हैरानी व्यहोर्नुपरेको छ।
गत हप्ता भारतका राज दास यस्तै समस्यामा फसेका छन्। देशभित्रका जुनसुकै गन्तव्यका लागि पनि सधैं कारमा यात्रा गर्ने गरेका २८ वर्षीय दास धेरै मानिसहरूझैँ गन्तव्यसम्म पुग्न स्याटेलाइटमा आधारित नेभिगेसन टुलको प्रयोग गर्ने गर्थे।
यसरी फसे दास र उनका सहयात्री
तर गएको हप्ता उनीसँग भएको एउटा घटनाले उनलाई झस्काइदियो। उनले गुगल म्याप्समा गोवाको पणजीको लोकेशन सेट गरे र आफ्ना सहकर्मी र दुई आफन्तसँग सेडान कारमा यात्रा सुरु गरे। यस क्रममा कर्नाटकको बेलगावी जिल्लाबाट छोटो बाटो लिँदा उनी पश्चिमी घाटको खानापुर जङ्गलमा फसेको बीबीसीले उल्लेख गरेको छ।
दासले बीबीसीलाई भने, “यो यस्तो बाटो थियो, जहाँ हामी यू-टर्न पनि लिन सक्दैनथ्यौँ। पछि मात्र थाहा भयो कि त्यहाँ अगाडि कुनै बाटो छैन, हामी जङ्गलमै छौँ।”
भाग्यवश यो उत्तर प्रदेशको बरेलीको जस्तो अपूर्ण पुल थिएन, जहाँ कार खसेर तीन जनाको मृत्यु भएको थियो। दास र उनका साथीहरूका लागि यो नयाँ अनुभव थियो। उनीहरूको मोबाइलमा सिग्नल थिएन र यस ठाउँलाई खतरनाक जङ्गलको रूपमा चिनिन्थ्यो।
दास र उनका सहकर्मी एउटा पेमेन्ट गेटवे कम्पनीमा काम गर्छन्। उनीहरू गोवामा हुने एउटा सम्मेलनमा जान लागेका थिए। साथै गोवामा केही आरामका पल बिताउने सोचले दुई आफन्त पनि उनीहरूसँग सामेल भएका थिए।
दासका भतिजा आकाशले भने, “हामीले सधैं गुगल म्याप्सकै प्रयोग गर्यौँ र कुनै समस्या भएन।” तर, बेलगावी पुग्दा राष्ट्रिय राजमार्ग समाप्त भएको देखियो। गुगल म्याप्सले गोवातर्फ जाने साइडको बाटो देखायो।
दासले भने, “वन विभागका अधिकारीहरूले बिहान ६ बजे मात्र ढोका खुल्ने बताएका थिए, तर हामी रातको २-३ बजे त्यहाँ पुग्यौँ।”
गुगल म्याप्सको निर्देशनमा उनीहरूले अगाडि कच्ची बाटो लिए। केही समयपछि मात्र थाहा भयो कि त्यहाँ कुनै बाटो थिएन। झन खराब कुरा, उनीहरू यू-टर्न लिन पनि सक्दैनथे।
यो निराशाजनक अवस्थामा उनीहरू बिहानसम्म कारभित्रै बसे। सिग्नल पाउनका लागि केही किलोमिटर हिँडेपछि, वन विभाग र पुलिसलाई सम्पर्क गरे। बिहान ६ बजे, पुलिस सब-इन्स्पेक्टर केएल बडिगर आएर उनीहरूलाई जङ्गलबाट बाहिर निकाले।
दासले भने, “यदि त्यहाँ बाटो नै थिएन भने, अधिकारीहरूले त्यहाँ जान किन भने? गुगल म्याप्सले पनि आजकल धेरै गलत बाटो देखाउन थालेको छ।”
गुगल म्याप्सको प्रयोग गर्नेहरूका लागि दासले भने, “गुगल म्याप्स प्रयोग गर्नु नराम्रो कुरा होइन, तर यसको मात्र भर पर्नु सही होइन। स्थानीय मानिसहरूबाट पनि दिशानिर्देश लिनुपर्छ।”
गुगलका अनुसार कम्पनीले प्रयोगकर्ताहरूको सुरक्षा र जानकारीको गुणस्तरलाई गम्भीरतापूर्वक लिने बताउँदै मौसम परिवर्तनलगायतका कारणले डाटा प्रभावित हुन सक्ने भन्दै आफ्नो प्रतिरक्षा गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
यसरी काम गर्छ गुगल म्याप्सले
गुगल म्याप्सको प्रयोगलाई थप सुरक्षित बनाउन एआई प्रविधि, डाटा साझेदार, र ट्राफिक अधिकारीहरूको सहयोगबाट अपडेट गरिन्छ।
केही हप्ताअघि तीन भाइ गुगल म्याप्सकै गलत निर्देशनका कारण अधुरो पुलमा पुगे। कार नदीमा खस्दा उनीहरूको ज्यान गयो। यो घटनापछि गूगल म्याप्सविरुद्ध पनि मुद्दा दर्ता भएको थियो।
प्रकाशित: १ पुष २०८१, सोमबार