Technology Khabar २९ मंसिर २०८१, शनिबार
काठमाडौं ।
तपाईँले हिजोआज युवापुस्तामा जेन जी, जेनेरेशन एक्स लगायतका शब्दावलीहरु चलेको सुन्नुभएको होला। झट्ट सुन्दा प्राविधिक वा ‘कोड’ भाषाजस्ता लाग्ने यी शब्दावलीहरु शब्दकोषमा पनि उपलब्ध भइसकेका छन्।
मानव इतिहासलाई विभिन्न समयका आधारमा पुस्ताहरूमा विभाजन गरिएको छ। यी पुस्ताहरूले आफ्नो जन्मकाल, सामाजिक वातावरण, र प्रविधिको प्रभाव अनुसार विशिष्ट पहिचान बनाएका छन्। यहाँ हरेक पुस्ताको समय, परिभाषा, र मुख्य विशेषताहरू वर्णन गरिएको छ।
१. द ग्रेटेस्ट जेनेरेशन (१९०१-१९२७)
पहिलो नाम आउँछ द ग्रेटेस्ट जेनेरेशनको जसको जन्म सन् १९०१ देखि १९२७ सम्म भएको हुन्छ। यो जेनेरेशन अर्थात् पुस्ताको मुख्य विशेषतामा यो पुस्ता पहिलो विश्वयुद्ध, महामन्दी, र दोस्रो विश्वयुद्धको साक्षी बन्यो।
यो पुस्ता जन्मिँदा मुख्य प्रविधिका हिसाबले टेलिफोन तथा टेलिग्राम मात्र थिए भने सञ्चारका हिसाबले छापा र नयाँ प्रविधिका रुपमा रेडियो प्रविधि उपभोग गर्न पायो। यिनीहरुलाई परिश्रम, बलिदान, र अनुशासनको प्रतीक पनि मानिन्छ।
२. द साइलेन्ट जेनेरेशन सन् (१९२८–१९४५)
यो कालखण्डमा जन्मिएकाहरु साइलेन्ट जेनेरेशनमा पर्छन्। यिनीहरु द्वितीय विश्वयुद्धको समयमा जन्मेका र युद्धपछि स्थिरतामा ध्यान दिने पुस्ता हुन्। द्वितीय विश्वयुद्ध सन् १९३९ मा शुरु भएर १९४५ मा समाप्त भएको थियो। तर यसै कालखण्डमा द्वितीय विश्वयुद्धका कारण उपलब्ध नयाँ प्रविधिहरु पनि ध्वस्त भएका थिए।
द्वितीय विश्वयुद्ध रोकिएर संयुक्त राष्ट्रसंघको शुरुवातपछि विश्वमा नयाँ बिहानी शुरु भयो र समग्र क्षेत्रमा नयाँ नयाँ तौरतरिकाहरु शुरु भए। प्रविधिको हिसाबले हेर्दा सञ्चार र मनोरञ्जनका क्षेत्रमा रेडियो, टेलिभिजन, टेलिफोन र टेलिग्राम उपलब्ध थिए।
टेलिभिजनले सबैभन्दा शक्तिशाली सञ्चार माध्यमका रुपमा वर्चस्व जमाएको थियो भने कम्प्युटरको शुरुवात भइसकेको थिएन। यो पुस्तालाई परम्परागत मूल्य, स्थिरता, र बचतप्रति समर्पित पुस्ता मानिन्छ।
३. बेबी बुमर्स ( १९४६-१९६४ )
सन् १९४६ देखि १९६४ सम्म जन्मेका पुस्तालाई बेबी बूमर्स भनेर चिनिन्छ। दोस्रो विश्वयुद्धपछि भएको उच्च जन्मदरका कारण यो नाम दिइएको हो। यो पुस्तालाई आर्थिक समृद्धि, सामाजिक आन्दोलन, र उपभोगतावादी जीवनशैली उपभोक्ताका रुपमा चिनिन्छ।

यो पुस्ताले पनि साइलेन्ट जेनेरेशनको झैं मनोरञ्जन तथा सञ्चारका क्षेत्रमा उपलब्ध प्रविधि नै उपभोग गरे। त्यसबेलासम्म कुनै नयाँ र उल्लेख्य प्रविधि अस्तित्वमा आइसकेको थिएन।
४. जेनेरेशन एक्स (१९६५ – १९८०)
सन् १९६५ देखि १९८० सम्म जन्मेका व्यक्तिहरु जेनेरेशन एक्समा पर्दछन्। यो पुस्ताको मुख्य विशेषतामा यिनीहरु नयाँ प्रविधिको प्रारम्भिक प्रयोगकर्ताका रुपमा चिनिन्छन्। विशेष गरी कम्प्युटरको शुरुवात र टिभीको वर्चस्वका बेला यिनीहरुको जन्म भएको बुझिन्छ।यसबाहेक स्वतन्त्रता, उद्यमशीलता, र कार्य-जीवन सन्तुलनमा विश्वास पनि यो पुस्ताको विशेषतामा पर्दछ।
५. मिलेनियल्स (१९८१ – १९९६)
सन् १९८१ देखि १९९६ सम्म जन्मेकाहरु मिलेनियल्सका नामले चिनिन्छ। सन् २००० लाई मिलेनियम अर्थात् सहस्राब्दी भनिनएकाले त्यसैको छेकोमा जन्मिएका यी व्यक्तिहरुको पुस्तालाई मिलेनियल्स भनिएको हो।
यिनीहरुको मुख्य विशेषतामा डिजिटल युगको सुरुवात देखेका, सोशल मिडिया, स्मार्टफोन, र अनलाइन प्लेटफर्मको उपलब्धता र त्यसप्रति झुकाव राख्न सक्षम र पर्यावरण र सामाजिक न्यायजस्ता मुद्दाहरूमा चासो लिने पुस्ताका रुपमा यिनीहरुलाई चिनिन्छ।
६. जेनेरेशन जी (१९९७ – २०१२)
सन् १९९७ देखि २०१२ सम्मको समयमा जन्मेकाहरुलाई जेनेरेशन जी अर्थात जेन जी भनेर चिनिन्छ। जन्मका हिसाबले सन् २०२४ सम्म बढीमा २७ र घटीमा १२ वर्षमा चलिरहेका व्यक्तिहरु जेन जी मा पर्दछन्। तर यो शब्दाबली आफ्नै लागि बनेको हो र आफू त्यसमा पर्छु भन्ने जेन जी मा पर्ने सबैलाई थाहा नहुन सक्छ।
यिनीहरुको मुख्य विशेषतामा जन्मेदेखि नै इन्टरनेट, स्मार्टफोन, र सामाजिक सञ्जालको पहुँच पाएका साथै विविधतामा विश्वास गर्ने र व्यक्तिगत अभिव्यक्तिलाई प्राथमिकता दिने हो।
७. जेनेरेशन अल्फा (२०१३ – २०२५)
अन्तिम अर्थात् हाल चलिरहेको पुस्ताको नाम हो जेनेरेशन अल्फा। अनुमानित रुपमा सन् २०१३ देखि आउने वर्ष २०२५ सम्म जन्मिने व्यक्तिहरु जेनेरेशन अल्फामा पर्दछन्। यसअघिको जेन जी नाम अङ्रेजी अक्षर जेडबाट लिइएको हो भने जेनेरेशन अल्फा ग्रीक वर्णमालाको २४ अक्षरमध्ये पहिलो हो जुन अङ्रेजीको ए अक्षरजस्तै हो र यसलाई अङ्रेजी वर्णमालाको सानो ए जस्तैगरी लेखिन्छ।
यो जेनेरेशनको मुख्य विशेषतामा यिनीहरु पहिलो पूर्ण डिजिटल पुस्ता हुन् जो एआई र भीआरजस्ता प्रविधिमा निर्भर हुन थालेका छन्। अनलाइन शिक्षा र स्मार्ट उपकरणहरूको प्रयोग यिनीहरुको अर्को विशेषता हो भने यो पुस्ता सांस्कृतिक विविधता र समावेशितामा पनि रुचि राख्ने समूहमा पर्दछ।
प्रकाशित: २९ मंसिर २०८१, शनिबार