काठमाडौं ।
नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) का वैज्ञानिकहरूले बुधबार (डिसेम्बर ११) अमेरिकन जियोफिजिकल युनियन (एजीयू) को २०२४ वार्षिक बैठकमा मंगल ग्रहमा दुर्घटनाग्रस्त भएको इन्जेनुइटी हेलिकप्टरबारे अपडेट दिएका छन्।
इन्जेनुइटी हेलिकप्टर पर्सिभेरन्स रोभरसँग जोडिएर मंगल ग्रहमा पुगेपछि, यसको मुख्य उद्देश्य पातलो मंगलको वायुमण्डलमा उडान सम्भव छ कि छैन भन्ने प्रमाणित गर्न परीक्षण उडानहरू गर्नु थियो।
लगभग तीन वर्षसम्म सफलतापूर्वक सञ्चालन गरेपछि, १८ जनवरी २०२४ मा यसको ७२औं उडानका क्रममा इन्जेनुइटी दुर्घटनाग्रस्त भयो। यो दुर्घटनामा हेलिकप्टरका रोटरहरूमा क्षति पुग्यो, जसका कारण यो फेरि कहिल्यै उड्न नसक्ने भएको छ।
तर जेपीएलका मिशन व्यवस्थापकहरूले इन्जेनुइटीलाई मंगल ग्रहमा दोस्रो जीवन दिन सकिने बताएको एक रिपोर्टमा उल्लेख छ। जेपीएलका प्रोजेक्ट म्यानेजर टेडी जेनिटोसले एजीयू बैठकमा भने, “कडा अवतरणपछि पनि ७२ वटा एभियोनिक्स ब्याट्री सेन्सरहरू अझै काम गरिरहेका छन्। यसले हामीलाई अन्तिम उपहार स्वरूप अब मौसम स्टेशनजस्तै काम गर्नेछ, प्रत्येक सोल (मंगल ग्रहको दिन) मा टेलिमेट्री रेकर्ड गर्नेछ, तस्बिर खिच्नेछ, र तिनीहरूलाई अनबोर्ड भण्डारण गर्नेछ।”
जेपीएलले इन्जेनुइटीको दुर्घटनाको अनुसन्धानमा महिनौं बिताएको छ। अनुसन्धानबाट हेलिकप्टरको नेभिगेसन प्रणालीलाई मंगलको एकरूप र नीरस भू-भागको कारण अपर्याप्त जानकारी उपलब्ध रहेको थाहा भयो।
जेपीएलका पाइलट हवार्ड ग्रिपले भने, “यसले यो भनेको होइन कि हामीले उडानबारे सबै कुरा पत्ता लगाएका छौं। हाम्रो निष्कर्ष यो हो कि अवतरणको क्रममा भएको घटनाक्रमबारे केही विवरण छुट्याउन पर्याप्त जानकारी हामीसँग छैन।”
टोलीको अनुसन्धान सकिएको भए पनि यो पूर्ण रूपमा पूरा नभइसकेको ग्रिपले थपे।

“दुर्घटनास्थल जेपीएलबाट १६ करोड किलोमिटर टाढा छ। न कालो बक्स छ, न प्रत्यक्षदर्शीहरू छन्। हामी घटनास्थलमा पुगेर निरीक्षण गर्न सक्दैनौं, त्यसैले उपलब्ध साना विवरणहरूबाटै काम गर्नु परिरहेको छ,” उनले भने।
जेपीएलका वैज्ञानिकहरूले भनेअनुसार मिशन समाप्त हुनेगरी रोटरमा क्षति पुगेको भए पनि इन्जेनुइटी हेलिकप्टर अन्य सबै पक्षमा राम्रो अवस्थामा छ।
“यदि तपाईंले इन्जेनुईटीलाई आफैं सोध्नुभयो भने, हेल्थ सिस्टमका अनुसार सबै ठीकठाक छ भन्ने रिपोर्ट गर्छ। यसको रोटर सिस्टममा क्षति पत्ता लगाउने सेन्सर छैन। तर हामी गर्वका साथ भन्न सक्छौं कि ७२औं उडानको कडा अवतरणपछि पनि यसको एभियोनिक्स, ब्याट्री र सेन्सरहरू सबै काम गरिरहेका छन्,” टेडी जेनिटोसले बताए।
इन्जेनुइटीको अनबोर्ड स्टोरेज अझै करिब २० वर्षसम्मका लागि पर्याप्त रहेको छ। यसले प्रत्येक सोल (मंगल ग्रहको दिन) मा डाटा र तस्बिरहरू लिन जारी राख्न सक्छ। तर, यी डाटा पृथ्वीमा फिर्ता ल्याउने कुनै स्पष्ट उपाय हालसम्म छैन।
इन्जेनुइटीले आफ्नो डाटा पर्सिभेरन्स रोभरमार्फत रेडियो लिंक प्रयोग गरेर पृथ्वीमा पठाउँछ। तर, अहिले रोभर हेलिकप्टरबाट ३ किलोमिटर टाढा पुगिसकेको छ। छिट्टै इन्जेनुईटीले पृथ्वीका मानव नियन्त्रणकर्तासँग आफ्नो सम्पर्क गुमाउन सक्ने सम्भावना छ।
“हामीलाई लाग्छ, अर्को महिना भित्रै हामी इन्जेन्इटी सँगको सम्पर्क सदाका लागि गुमाउन सक्छौं। सायद २० वर्षपछि अन्तरिक्ष यात्रीहरू लिएर फर्किदा वा नमुना फिर्ता ल्याउने समयमा मात्र यससँग पुनः सम्पर्क स्थापित गर्न सकिनेछ,” जेनिटोसले एजीयूको प्रस्तुतीकरणमा भने।
यद्यपि दुर्घटनाका बाबजुद, इन्जेनुइटी हेलिकप्टर अत्यन्त सफल साबित भयो। पाँच उडानका लागि मात्र डिजाइन गरिएको यो हेलिकप्टरले ७२ उडान पूरा गर्यो। फ्लाइट डेमोन्स्ट्रेटरका रूपमा डिजाइन गरिएको हुनाले यसमा कुनै वैज्ञानिक उपकरणहरू बोक्ने योजना थिएन।
तर जेपीएल ले मंगल ग्रहमा उडानको भविष्यका लागि नयाँ अवधारणामा काम गरिरहेको छ। एजीयू को आजको प्रस्तुतीकरणमा जेपीएलका वैज्ञानिकहरूले नयाँ “मार्स चपर” नामक अवधारणाको भिडियो प्रस्तुत गरे।
यो डिजाइन हाल अवधारणामात्र हो र मंगल ग्रहमा पठाउने कुनै समयसीमा छैन। जेपीएल ले यसलाई इन्जेनुइटीभन्दा २० गुणा भारी बनाउने योजना बनाएको छ।
यो हेलिकप्टरमा “कैयौं पाउन्डको वैज्ञानिक उपकरण” बोक्न र स्वतःसञ्चालित रूपमा दुर्गम मंगलको भूभागको अन्वेषण गर्न सक्ने क्षमता हुनेछ। यो हेलिकप्टरले एकै दिनमा करिब ३ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ।
प्रकाशित: २८ मंसिर २०८१, शुक्रबार