हुन्डाईले भारतमा विद्युतीय सवारीका लागि ६ सय फास्ट चार्जिङ स्टेशन स्थापना गर्ने

  • Technology Khabar | २६ मंसिर २०८१, बुधबार
हुन्डाईले भारतमा विद्युतीय सवारीका लागि ६ सय फास्ट चार्जिङ स्टेशन स्थापना गर्ने

काठमाडौं ।

प्रमुख अटोमोबाइल कम्पनीहरु मध्ये एक हुन्डाई मोटरले भारतमा विद्युतीय सवारी साधन (ईभी) को लागि ६०० ओटा द्रुत चार्जिङ स्टेशन स्थापना गर्ने घोषणा गरेको छ। यी चार्जिङ स्टेशनहरू राजमार्गहरू नजिक र ठूला शहरहरूमा स्थापना गरिने बताईएको छ।

भर्खरै भारतको स्टक बजारमा सूचीकृत भएको हुन्डाईले राज्य सरकारसँग सन् २०२७ सम्ममा तमिलनाडुमा करिब १०० ईभी चार्जिङ स्टेशनहरू स्थापना गर्ने सम्झौता गरेको छ। हुन्डाई र यसको भगिनी फर्म किआले आफ्नो विद्युतीय सवारीमा स्थानीयकरण बढाउन एक्साइड इन्डस्ट्रिजसँग साझेदारी गरेका छन्। यसअन्तर्गत हुन्डाई र कियाका विद्युतीय कारमा भारतमा नै बनाइएको ब्याट्री प्रयोग गरिने एक रिपोर्टमा उल्लेख छ।

भारतीय अटोमोबाइल बजारमा मारुती सुजुकीपछि हुन्डाई दोस्रो स्थानमा छ। टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्राले ईभी सेग्मेन्टमा धेरै लगानी गरेका छन्। हुन्डाईले यो द्रुत रूपमा बढिरहेको बजारमा आफ्नो हिस्सा बढाउन करिब २.४ अर्ब डलर लगानी गर्ने योजना पनि बनाएको छ।

कम्पनीले अर्को वर्ष दोस्रो प्लान्ट पनि सञ्चालन गर्ने तयारी गरेको छ। यसले हुण्डाईलाई ईभी र अन्य गाडीको माग पूरा गर्न मद्दत गर्नेछ।

यसैबीच कम्पनीको व्यापक बिक्री हुने एसयूभी क्रेटाको विद्युतीय संस्करण सार्वजनिक गर्ने तयारी भइरहेको छ। यसअघि हुन्डाईले आफ्नो पहिलो विद्युतीय गाडी कोनाको उत्पादनलाई बन्द गरेको थियो। कम्पनीले आगामी अंग्रेजी वर्षको सुरुमा नयाँ विद्युतीय सवारीसाधन लन्च गर्ने जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार