नयाँ चिपमार्फत् क्वान्टम कम्प्युटिङको चुनौती पार गरेको गुगलको दाबी

Technology Khabar २६ मंसिर २०८१, बुधबार

काठमाडौं ।

गुगलले क्वान्टम कम्प्युटिङमा एउटा महत्त्वपूर्ण चुनौती समाधान गरेको सोमबार घोषणा गरेको छ। नयाँ पुस्ताको चिप प्रयोग गरेर पाँच मिनेटमै यस्तो गणना सम्पन्न गरेको छ जुन परम्परागत कम्प्युटरले ब्रह्माण्डको इतिहासभन्दा धेरै समय लगाउन सक्थ्यो।

माइक्रोसफ्ट तथा आईबीएम जस्ता अन्य ठूला प्राविधिक कम्पनीहरू झैं गुगल पनि क्वान्टम कम्प्युटिङको दौडमा छ। यो प्रविधिले आजको सबैभन्दा द्रुत कम्प्युटरहरूभन्दा धेरै तीव्र गति प्रदान गर्ने आशा गरिन्छ।

रोयटर्सका अनुसार गुगलको सान्ता बार्बरा, क्यालिफोर्नियास्थित क्वान्टम प्रयोगशालाले समाधान गरेको गणितीय समस्या व्यावसायिक रूपमा उपयोगी नभए पनि एक दिन क्वान्टम कम्प्युटरले हालका कम्प्युटरहरूको क्षमताबाहिरकाऔषधि, ब्याट्री रसायनशास्त्र, र कृत्रिम बुद्धिमत्ताका जटिल समस्याहरू समाधान गर्न सक्ने कम्पनीलाई आशा छ।

सोमबार सार्वजनिक गरिएको नतिजा विलो  नामक नयाँ चिपबाट आएको हो जसमा १०५ “क्वबिट्स” छन्। क्वबिट्स क्वान्टम कम्प्युटरका आधारभूत ईकाइहरू हुन्। यिनीहरू तीव्र भए पनि धेरै जसो त्रुटिपूर्ण हुन्छन् किनभने सानो मात्रामा बाह्य प्रभावहरू, जस्तै अन्तरिक्षमा भएका उपपरमाणु कणहरूले, तिनीहरूलाई प्रभावित गर्न सक्छन्।

जति धेरै क्वबिट्स चिपमा राखिन्छन्, त्यति नै त्रुटि बढ्ने सम्भावना हुन्छ, जसले गर्दा चिप साधारण कम्प्युटर चिपभन्दा प्रभावकारी नहुन सक्छ। त्यसैले १९९० दशकदेखि वैज्ञानिकहरू क्वान्टम त्रुटि-सुधार प्रविधिमा काम गर्दै आएका छन्।

सोमबार नेचर जर्नnमा प्रकाशित एउटा शोधपत्रअनुसार गुगलले विलो चिपका क्वबिट्सलाई यसरी जडान गर्ने विधि पत्ता लगाएको छ कि क्वबिट्सको सङ्ख्या बढेसँगै त्रुटि दर घट्छ। कम्पनीले वास्तविक समयमा त्रुटि सुधार गर्न सक्ने क्षमतासमेत विकास गरेको छ, जुन यसको क्वान्टम मेसिनलाई व्यावहारिक बनाउनतर्फको महत्त्वपूर्ण कदम हो।

प्रकाशित: २६ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया