
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षाशास्त्र केन्द्रीय विभागले भौतिक कक्षाका साथसाथै अनलाइन कक्षाहरु पनि सञ्चालन गर्ने भएको छ।
विभागले केही दिनअघि भौतिक तथा अनलाइन कक्षा दुवै संचालन हुने व्यहोरासहितको सूचना निकालेर विभाग अन्तर्गतको स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको थियो।
“त्रि.वि., शिक्षाशास्त्र संकाय, डिनको कार्यालय, बल्खुको मिति २०८१/०८/०५ को सूचनाअनुसार यस विभागमा निम्नअनुसार विषयहरूमा निम्नअनुसारको माध्यमबाट सञ्चालन हुने गरी स्नातकोत्तर तह (M.Ed./MSSEd) प्रथम सेमेष्टरमा भर्ना खोलिएको हुँदा यो सूचना प्रकाशित गरिएको छ”, सूचनामा उल्लेख छ।
यसका लागि आवेदन फाराम बुझाउने मिति मंसिर ५ गतेदेखि नै शुरु भइसकेको छ भने आगामी पौष २५ गतेसम्म रहेको छ। प्रवेश परीक्षा पुस २८ गते आइतबार दिनको ११ देखि १ बजेसम्म हुनेछ भने त्यसको
नतिजा माघ ५ गते प्रकाशन गरिने विभागले जनाएको छ। प्रवेश परीक्षामा उत्तीर्ण हुनेले माघ ६ गतेदेखि ९ गतेसम्म भर्ना गरिसक्नुपर्ने छ।
आवेदन फाराम शिक्षाशास्त्र संकायको वेबसाइट www.tufoe.edu.np मा रहेको अनलाइन फाराम वा www.entrance.tufoe.edu.np भित्र गई इन्ट्रान्स रजिस्ट्रेशन मार्फत भर्न सकिनेछ।
प्रवेश परीक्षाशुल्क १ हजार ५०० अनलाइन इन्ट्रान्स रजिस्ट्रेशन (Entrance Registration (Master) भित्र गई ईसेवा पेमेण्टमार्फत मात्र बुझाउनु पर्ने प्रावधान रहेको छ।
अन्य परीक्षा केन्द्रबाट प्रवेश परीक्षा दिने विद्यार्थीले पनि यस विभागमा भर्ना हुन सक्ने बताइएको छ।
प्रकाशित: २२ मंसिर २०८१, शनिबार