
काठमाडौं ।
पछिल्ला केही वर्षमा अमेरिकी डिभाइस निर्माता कम्पनी एप्पलको आईफोनको बिक्री तीव्र गतिमा बढेको छ। तर, कतिपय देशमा स्थानीय सामग्रीसँग सम्बन्धित नियम पालना नगर्दा पनि कम्पनीले समस्या भोगिरहेको छ। इन्डोनेसियाले एप्पललाई एक अर्ब डलर लगानी गर्नुपर्ने सर्त राखेको छ।
इन्डोनेसियाले स्थानीय सामग्री नियमहरू पालना नगरेको कारण कम्पनीको आईफोन १६ को बिक्रीमा प्रतिबन्ध लगाएको थियो। केही अन्य देशहरूमा कम्पनीले त्यस्ता नियमहरू पालना गरेको छ।
इन्डोनेसियाका लगानी मन्त्री रोसन रोस्लानीले एक सुनुवाईमा सांसदहरूलाई भने, ‘यदि एप्पलले इन्डोनेसियालाई आफ्नो आपूर्ति श्रृंखलाको हिस्सा बनाउने निर्णय गर्छ भने, यसले लगानी बढाउनु पर्छ।’
कम्पनीको इन्डोनेसियामा कुनै पनि उत्पादन कारखाना छैन। यसअघि एप्पलले इन्डोनेसियामा एक्सेसरी र कम्पोनेन्ट प्लान्ट स्थापना गर्न करिब १० करोड डलर लगानी गर्ने प्रस्ताव गरेको थियो।
हालै इन्डोनेसियाको उद्योग मन्त्रालयले आईफोन १६ को बिक्रीमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले एप्पललाई आफ्नो लगानी योजना परिवर्तन गर्न र स्मार्टफोनको अनुसन्धान र विकासमा बढी जोड दिन आग्रह गरेको थियो।
प्रकाशित: २१ मंसिर २०८१, शुक्रबार