अनरले नयाँ इन्टेल कोर आई५ को साथ लन्च गर्यो म्याजिकबुक एक्स१६ प्लस र एक्स१४ प्लस

Technology Khabar २० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

अनरले सोमबार ३०० सिरिजका स्मार्टफोनहरू घोषणा गरेको छ। साथै कम्पनीले दुई नयाँ म्याजिकबुक ल्यापटपहरू – एक्स१६ प्लस र एक्स१४ प्लस पनि अनावरण गरेको छ।

दुवै नयाँ ल्यापटपहरू १३ औं जेनको इन्टेल कोर आई५–२२०एच मा रन हुने उल्लेख गरिएको छ। त्यसका साथै यी दुवै नयाँ ल्यापटपहरूले – १६जीबी वा ३२जीबी र्याम र १ टीबी स्टोरेज (भण्डारण) को समान मेमोरी विकल्पहरू साझा गर्दछन्।

म्याजिकबुक एक्स१६ प्लस २०२५ ले १६ इन्चको स्क्रिन र १८एमएम प्रोफाइलको साथ १.७९ किलो तौल भएको बडी फिचर गर्दछ। यसको स्क्रिनले १२० हर्ज रिफ्रेस दरलाई समर्थन गर्नुका साथै २,५६० × १,६०० पिक्सेलको रिजोल्युसन र ४३० निट्स सम्मको ब्राइटनेस रहेको उल्लेख छ।

यसमा रहेको ७५ डब्ल्यूएच (वाट–आवर) को ब्याट्रीले ६५ डब्ल्यू (वाट) को फास्ट चार्जिङलाई समर्थन गर्ने बताइएको छ। त्यसैगरी यसमा दुईवटा यूएसबी–सी, दुईवटा यूएसबी–ए पोर्टहरू (जेन१ र जेन२), एउटा एचडीएमआई र ३.५ एमएम हेडफोन ज्याक समावेश गरिएका छन्। यसको किबोर्ड नमप्याडको साथ आउने बताइएको। साथै उक्त किबोर्डको तल ५–फिङ्गर टचप्याड रहेको र ब्याकलिट पनि हुने बताइएको छ।

त्यसैगरी म्याजिकबुक एक्स१४ प्लस २०२५ भने १६एमएम प्रोफाइल र १.३४ किलो तौल भएको बडीको साथ आउँदछ। यसमा २,८८० × १,८०० रिजोल्युसनको साथ १४ इन्चको डिस्प्ले रहेको छ।

यो डिभाइस एक्स१६ प्लस भन्दा सानो भएकोले यसमा ६० डब्ल्यूएच (वाट–आवर) को ब्याट्री समावेश गरिएको छ। यद्यपि उक्त ब्याट्रीले ६५ डब्ल्यू (वाट) को फास्ट चार्जिङलाई समर्थन गर्ने बताइएको छ।

यस एक्स१४ प्लसमा एक्स१६ प्लसको जस्तै समान पोर्टहरूको मात्रा रहेको र उही ट्र्याकप्याड समावेश गरिएको भए तापनि किबोर्ड आकारको कारणले गर्दा नम्प्याड नभएको बताइएको छ।

यसबाहेक दुवै ल्यापटपहरूमा विन्डोज ११ होम, वाई–फाई ५ कनेक्टिभिटी, ब्लुटुथ ५.१ र एनएफसी समावेश गरिएको उल्लेख छ।

अनरको दुबै ल्यापटपहरू स्टेरी ग्रे र लाइट सी ब्लू रङ्गमा आएको उल्लेख छ। एक्स१४ प्लसको मूल्य ४,८९९ चिनियाँ युआन वा ५,१९९ चिनियाँ युआन कायम गरिएको छ भने एक्स१६ प्लस को मूल्य ५,०९९ चिनियाँ युआन वा ५,३९९ चिनियाँ युआन पर्ने उल्लेख गरिएको छ।

साथै दुवै ल्यापटपहरू चीनमा प्रि–अर्डरको लागि तयार रहेको र डिसेम्बर १२ तारिदेखि ढुवानी गर्ने तालिका रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया