राजनीतिक तथा गर्भावस्थाका संवेदनशील डाटा बेच्ने दुई ब्रोकरसँग अमेरिकी नियामकले गर्यो सहमति

Technology Khabar २० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) ले मंगलबार मानिसहरूको धार्मिक र राजनीतिक विश्वास, गर्भावस्थाको अवस्था, र अन्य संवेदनशील जानकारी ट्र्याक गर्न प्रयोग हुने जानकारी बेचेका दुई उपभोक्ता डाटा ब्रोकरहरूसँग सहमति गरेको छ।

यस्ता डाटालाई संवेदनशील स्थानहरूको भ्रमण ट्र्याक गर्न प्रयोग नगर्ने समहमति भएको अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) ले मंगलबार जानकारी दिएको हो।

एफटीसीले मोबाइलवाल्ला र ग्रेभी एनालिटिक्स माथि व्यक्तिगत सहमति बिना स्थानसम्बन्धी डाटा संकलन गरेर अन्यायपूर्ण र भ्रामक अभ्यास गरेको आरोप लगाएको छ।

यी सम्झौताहरू—जसमध्ये पहिलो पटक अनलाइन विज्ञापनको लिलाममार्फत स्थान डाटा संकलनमा प्रतिबन्ध लगाइएको छ—बाइडेन प्रशासनको गोपनीयता सम्बन्धी चिन्ताका कारण डाटा ब्रोकरहरूमाथि कडाइ गर्ने प्रयासका हिस्सा हुन्।

यसै सन्दर्भमा, अमेरिकी उपभोक्ता वित्तीय संरक्षण ब्यूरो (सीएफपीबी) ले यस उद्योगलाई नियन्त्रण गर्ने नियमहरू प्रस्ताव गरेको रोयटर्सले उल्लेख गरेको छ।

वेबसाइट, मोबाइल उपकरण, र एपहरूले मानिसहरूको विशाल मात्रामा डाटा संकलन गर्छन्, जुन पछि अन्य बजारहरूमा खरिद बिक्री गरिन्छ। सामान्यतया यस्तो डाटा अनलाइन विज्ञापनका लागि प्रयोग गरिन्छ।

तर यसले स्टकिङ (गुपचुप पिछा गर्ने), ब्ल्याकमेल, जासुसी, र अवैध सरकारी निगरानीजस्ता जोखिम निम्त्याउन सक्ने एफटीसीले चिन्ता व्यक्त गरेको छ।

एफटीसीका अनुसार, मोबाइलवाल्ला ले अनलाइन विज्ञापन लिलाम प्लेटफर्महरूबाट लाखौँ उपकरणहरूको स्थान डाटा संकलन गरिरहेको थियो, जहाँ विज्ञापनदाता आफ्नो विज्ञापन देखाउनका लागि स्थान खरिद गर्दछन्।

यो एफटीसीले पहिलो पटक यस्तो कार्यलाई गैरकानुनी भनेको हो। मोबाइलवाल्लाले लिलामीमा मात्र बोली लगाउनका लागि डाटा संकलन गर्न सहमति जनाएको छ।

एफटीसी अध्यक्ष लिना खान का अनुसार, अनलाइन विज्ञापन लिलामी प्रणालीले अमेरिकी उपभोक्ताहरूको संवेदनशील डाटालाई धेरै जोखिममा पारिरहेको हुन सक्छ।

ग्रेभी एनालिटिक्सले आफ्नो सहायक कम्पनी, भेन्टेल मार्फत स्थान डाटा सरकारका ठेकेदारलाई बेचिरहेको थियो, जसले संवैधानिक चिन्ता खडा गरेको एफटीसीका डेमोक्रेटिक कमिश्नरहरूले बताएका छन्।

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया