तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण पालिकाबाटै हुने

Technology Khabar १९ मंसिर २०८१, बुधबार

काठमाडौं ।

तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण पालिकाबाटै हुने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएकोमा सेवाग्राहीको सहजताका लागि पालिकाबाटै वितरण गरिने भएको हो।

जिल्ला प्रशासन कार्यालयमा रहेका राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकामा पठाई पालिकाबाटै वितरण गर्ने कार्यका लागि पूर्वतयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए।

यस कार्य व्यवस्थापनका लागि हाल परिचयपत्र वितरण कार्य स्थगित गरिएको छ। कार्यालयमा आएका परिचयपत्र अधिकांशले लगेका छैनन् । लिन नआउँदा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् ।

राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति बिदेसिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले जानकारी दिए। नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको गरेको पण्डितले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् ।

परिचयपत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालय तनहुँलाई व्यवस्थापनमा सकस भएको थियो । परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै आउनुपर्ने भएकाले अधिकांशले नलगेको उनले बताए। परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने पण्डितले बताए।

परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट पनि जानकारी हुन्छ।

पण्डितले भने, “राष्ट्रिय परिचयपत्र लिन आउन पनि स्वयम् व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनु पर्छ फाराम भरेका अधिकांश विदेश गइसकेकाले पनि परिचयपत्र त्यसै थन्किएका छन्।” गोरखापत्रबाट

प्रकाशित: १९ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया