इलन मस्कको २०१८ सीईओ पारिश्रमिक योजना खारेज हुने निर्णय पुन: कायम

  • Technology Khabar | १९ मंसिर २०८१, बुधबार
इलन मस्कको २०१८ सीईओ पारिश्रमिक योजना खारेज हुने निर्णय पुन: कायम

काठमाडौं ।

सोमबार टेस्लाका सीईओ इलन मस्कले आफ्नो २०१८ सीईओ पारिश्रमिक योजना पुनःस्थापित गराउन गरेको प्रयास असफल भएको छ। डेलावेयरका न्यायाधीशले यसअघि गरेको आफ्नो निर्णयलाई पुनः पुष्टि गरेपछि यो योजना असफल भएको हो।

यो योजना झण्डै ५६ अर्ब डलरको थियो, जुन सार्वजनिक कम्पनीको कार्यकारीका लागि अमेरिकी इतिहासमै सबैभन्दा ठूलो पारिश्रमिक योजना हो। टेस्लाले मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो निर्णयविरुद्ध पुनरावेदन गर्ने योजना रहेको बताएको छ। मस्कले पनि एक्समा यो निर्णयलाई “पूर्ण भ्रष्टाचार” भनेका छन्।

सीएनबीसीका अनुसार जनवरीमा चान्सलर क्याथलिन म्याककर्मिकले मस्कको पारिश्रमिक योजना खारेज गरेकी थिइन्। उनले मस्कले व्यक्तिगत रूपमा “टेस्लालाई नियन्त्रण गरेको” र आफूलाई फाइदा हुने गरी बोर्डसँग उचित छलफल नगरी योजना पारित गरेको ठहर गरिन्। यस प्रक्रियालाई उनले “गम्भीर त्रुटिपूर्ण” भनिन्।

त्यसपछि टेस्लाले यसै वर्षको जुनमा अष्टिन, टेक्सासमा भएको आफ्नो वार्षिक बैठकमा शेयरधनीहरूको मतद्वारा उक्त योजना “मान्यता प्रदान गर्न” प्रयास गरेको थियो। मस्कका वकिलहरूले मत परिणामलाई आधार मानेर न्यायाधीशलाई निर्णय उल्ट्याउन आग्रह गरे।

तर, सोमबारको रायमा न्यायाधीश म्याककर्मिकले लेखिन्, “शेयरधनीहरुको मतले केही प्रभाव पार्न सक्थ्यो भने पनि, यो मुद्दामा त्यो सम्भव छैन।”
उनले थपिन्, “यदि पराजित पक्षहरूले नयाँ तथ्य सिर्जना गरेर निर्णय संशोधन गर्नका लागि यो प्रक्रिया प्रयोग गर्न पाउँथे भने मुद्दाहरू कहिल्यै टुंगिने थिएनन्।”

प्रकाशित: १९ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार