टिकटक जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ: सचिव अर्याल

Technology Khabar १८ मंसिर २०८१, मंगलवार

टिकटक जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ: सचिव अर्याल
सञ्चार सचिव अर्याल काठमाडौँ, १८ मङ्सिरः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल मङ्गलबार काठमाडौँमा मन्त्रालय र टिकटकद्वारा संयुक्त रुपमा आयोजित ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा मन्तव्य राख्दै । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताइन्। उनले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गरिन्।

काठमाडौँमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा  सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले टिकटक मर्यादित हुँदैआएको बताइन्। उनले मन्त्रालयसमक्ष सूचीकृत भएर टिकटक सञ्चालनमा आउनु सकारात्मक कार्य भएको र अरु सामाजिक सञ्जाललाई पनि यसरी नै सरकारको सूचीकरणमा आउन आह्वान गरिन्।

“डिजिटल सुरक्षाका हिसाबले अरु सामाजिक सञ्जालभन्दा टिकटक विश्वसनीय छ”, सचिव अर्यालले भनिन्, “अरु सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो सकारात्मक कार्यको अनुसरण गर्नुपर्छ ।”

डिजिटल प्लेटर्फमलाई समाजप्रति पारदर्शी, मर्यादित र जवाफदेहिता बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको उनले जानकारी दिइन्।

सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको उद्देश्य नभएर सुरक्षित र मर्यादित बनाउने रहेको सचिव अर्यालले बताइन्। साथै यसका लागि सरकारलाई सबैको सहकार्य जरुरी रहेको उनको भनाइ थियो।

“सामाजिक सञ्जाल व्यवस्थापनमा प्रयोगकर्ताले ‘कन्टेन्टमा करेक्सन’ गरे धेरै हदसम्म समस्या समाधान हुन्छ”, उनले भनिन्। सचिव अर्यालले सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य सार्थक बनाउन सामाजिक सञ्जालको अहम् भूमिका हुने बताइन्।-रासस

प्रकाशित: १८ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया