सेवाग्राहीहरुको व्यक्तिगत जानकारी गिरोहलाई बेच्ने खल्ती वालेटका कर्मचारीहरु पक्राउ

Technology Khabar १८ मंसिर २०८१, मंगलवार

सेवाग्राहीहरुको व्यक्तिगत जानकारी गिरोहलाई बेच्ने खल्ती वालेटका कर्मचारीहरु पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

डिजिटल वालेट सेवा प्रदायक कम्पनी खल्तीका ग्राहकहरुको व्यक्तिगत डाटा आपराधिक गिरोहलाई बेच्ने कर्मचारीहरुलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंसिर १० गते पक्राउ गरेको छ।

नो योर कस्टमर (केवाईसी) रुजु गर्ने विभागका कर्मचारीहरुले वालेटका सेवाग्राहिहरुले आफ्नो वालेटको केवाईसी भेरिफाई गर्नको लागि अपलोड गरिएका विवरणहरुबाट फोटो, नागरिकताको प्रतिलिपी लगायत विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई उपलब्ध गराउने गरेका प्रहरीले जानकारी दिएको छ।

प्रहरीले यसमा संलग्न रहेका खल्ती वालेटका कर्मचारीहरु धादिङ ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेत पक्राउ परेकाहरू हुन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनीहरुले त्यसबाट अन्य ब्यक्तिहरुको नाममा फरक-फरक मोबाईल नम्बरहरुबाट ५५ ओटा भन्दा बढि वालेटहरु गैरकानुनी रुपमा खोली उक्त वालेटहरुलाई रुजु गरी आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेका थिए।

प्रहरीकाअनुसार खल्ती वालेको व्यवस्थापनले नै आफ्ना कर्मचारीहरुको गतिविधिका बारेमा शंका लागेपछि प्रहरीसमक्ष उजुरी दिएको बताईएको छ।

प्रहरीले काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानबाट पक्राउ गरी आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर जावलाखेल पठाईएको कार्यालयले जनाएको छ।

प्रकाशित: १८ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया