चिनियाँ चिपमाथिको अमेरिकी प्रतिबन्धले सेमिकण्डक्टर टूल निर्माता मर्कामा

Technology Khabar १७ मंसिर २०८१, सोमबार

काठमाडौं ।

अमेरिकाले सोमबार चीनको सेमीकन्डक्टर उद्योगलाई लक्षित गर्दै तीन वर्षमा तेस्रो पटक प्रतिबन्ध लगाउने योजना बनाएको छ। यस अन्तर्गत चिप उपकरण निर्माता नाउरा टेक्नोलोजी ग्रुप लगायतका अन्य  १४० कम्पनीहरूमा निर्यात रोक्ने निर्णय गरिनेछ। यो कदमले बेइजिङको चिप उत्पादन महत्वाकांक्षालाई कमजोर बनाउने लक्ष्य राखेको छ।

यस अभियानले पायोटेक र सिक्यारियर टेक्नोलोजीजस्ता चिनियाँ चिप उपकरण निर्माताहरूमा पनि नयाँ निर्यात प्रतिबन्ध लगाउनेछ। साथै चीनतर्फ पठाइने एडभान्स्ड मेमोरी चिपहरू र चिप बनाउन प्रयोग हुने उपकरणहरूमा पनि प्रतिबन्ध लगाइने रोयटर्सले उल्लेख गरेको छ।

यी प्रतिबन्धहरूले ल्याम रिसर्च, केएलए र अप्लाइड मटेरियल्सजस्ता अमेरिकी कम्पनीहरूका साथै डच उपकरण निर्माता एएसएम इन्टरनेशनलजस्ता गैर-अमेरिकी कम्पनीहरूलाई पनि असर गर्न सक्ने सम्भावना छ।

चीनमा नयाँ प्रतिबन्धको सामना गर्ने कम्पनीहरूमा करिब दुई दर्जन सेमीकन्डक्टर कम्पनीहरू, दुईवटा लगानी कम्पनीहरू, र १०० भन्दा बढी चिप उपकरण निर्माता कम्पनीहरू छन्।

रोयटर्सका अनुसार अमेरिकी सांसदहरूले स्वेस्योर टेक्नोलोजी को, किङ्डाओ सिएन र शेञ्जेन पेन्सन टेक्नोलोजीजस्ता केही कम्पनीहरुलाई चीनको ह्वावे टेक्नोलोजिजसँग जोडिएको बताउँछन्। ह्वावे अमेरिकी प्रतिबन्धका कारण पहिले नै कमजोर बनेको टेलिकम उपकरण निर्माता, अहिले चीनको एडभान्स्ड चिप उत्पादन र विकासको केन्द्रमा छ।

यी कम्पनीहरूलाई एन्टिटी सूचीमा थपिनेछ, जसले गर्दा अमेरिकी आपूर्तिकर्ताहरूले विशेष अनुमति बिना ती कम्पनीहरूलाई सामग्री पठाउन सक्दैनन्।

यस विषयमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले यस्तो व्यवहारले अन्तर्राष्ट्रिय आर्थिक व्यापार प्रणालीलाई कमजोर बनाएको र वैश्विक आपूर्ति श्रृंखलालाई असर पारेको बताए। उनले चीन आफ्ना कम्पनीहरूको अधिकार र हितको रक्षा गर्न कदम चाल्ने बताए।

प्रकाशित: १७ मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया