स्पेसएक्सद्वारा फाल्कन ९ रकेटमार्फत अमेरिकी जासुसी स्याटेलाइटहरू सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | १७ मंसिर २०८१, सोमबार
स्पेसएक्सद्वारा फाल्कन ९ रकेटमार्फत अमेरिकी जासुसी स्याटेलाइटहरू सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।

अर्बपति ईलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले शनिबार नोभेम्बर ३० मा, अर्को समूहका अमेरिकी जासुसी भूउपग्रहहरू सफलतापूर्वक प्रक्षेपण गरेको छ। फाल्कन ९ रकेट बिहान ३:१० बजे (स्थानीय समय १२:१० बजे) क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट उडान भरेको थियो।

यसले अमेरिकी राष्ट्रिय गुप्तचर कार्यालय (एनआरओ) का स्याटेलाइटहरू र २० वटा स्टारलिंक इन्टरनेट स्याटेलाइटहरू बोकेको थियो।

स्पेस डटकमका अनुसार यो मिशनलाई एनआरओएल-१२६ नाम दिइएको छ र यो एनआरओ को “प्रोलिफरेटेड आर्किटेक्चर” रणनीतिमा सहयोग पुर्‍याउने पाँचौँ प्रक्षेपण हो। यस रणनीतिमा महँगो र ठूला उपग्रहहरूको सट्टा साना र धेरै संख्यामा उपग्रह प्रयोग गरेर बलियो र सक्षम संरचना निर्माण गर्ने लक्ष्य छ।

फाल्कन ९ को पहिलो चरण उडानको आठ मिनेटपछि सफलतापूर्वक पृथ्वीमा फर्केर स्पेसएक्सको ड्रोन जहाज “अफ कोर्स आई स्टिल लभ यू” मा अवतरण गर्यो। स्टारलिंक भूउपग्रहहरू उडानपछि ६२ मिनेटमा लो अर्थ अर्बिटमा तैनाथ गरिए। तर एनआरओका भूउपग्रहहरूको तैनाथसम्बन्धी विवरण गोप्य राखिएको छ।

यो वर्षमा एनआरओका अन्य चार मिशनहरू पनि फाल्कन ९ रकेटबाट प्रक्षेपण भएका थिए। मेमा एनआरओएल-१४६, जुनमा एनआरओएल-१८६, सेप्टेम्बरमा एनआरओएल-११३, र अक्टोबरमा एनआरओएल-१६७। एनआरओL-१६७ मिशन फाल्कन ९ को २०२४ को १००औँ उडान थियो।

स्पेसएक्सले २०२४ मा हालसम्म ११८ प्रक्षेपण गरेको छ, जसमा लगभग ७० प्रतिशत मिशन स्टारलिंकका लागि गरिएको छ।

प्रकाशित: १७ मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार