पृथ्वीको वातावरणीय जोखिम अध्ययनका लागि नियर स्पेस ल्याब्सले अन्तरिक्षमा स्थापना गर्यो एआयुक्त रोबोट बेलुनको समूह

Technology Khabar १५ मंसिर २०८१, शनिबार

काठमाडौं ।

नियर स्पेस ल्याब्स नामक न्यूयोर्कस्थित स्टार्टअपले अत्याधुनिक रोबोट क्यामेराहरू जडित उच्च-उचाइका बेलुनहरूको सञ्जाल स्थापना गरेको छ जसले संयुक्त राज्यभरका विपद्-प्रभावित क्षेत्रहरूको उच्च-गुणस्तरको तस्वीरहरू खिच्छ।

यो प्रविधिले बीमा कम्पनीहरूलाई घरहरूको जोखिम मूल्याङ्कन गर्न र प्रतिकूल मौसमका कारण हुने क्षतिको तत्काल मूल्याङ्कन गर्न सहजीकरण गर्ने लक्ष्य राखेको छ।

हालैका बयान अनुसार यी बेलुनहरूमा एआई प्रविधियुक्त “स्विफ्ट्स” नामक रोबोट जडान गरिएको छ, जसले प्रति पिक्सेल ७ सेन्टिमिटर (२.७६ इन्च) सम्मको विवरणसहित तस्वीर खिच्न सक्षम छन्।

यी बेलुनहरू वाणिज्यिक विमानहरूभन्दा दोब्बर उचाइमा, तर भू-उपग्रहभन्दा तलको स्तरमा, स्ट्राटोस्फियरमा सञ्चालन गरिन्छ। प्रत्येक स्विफ्टले एकै उडानमा १,००० वर्ग किलोमिटर (३८६ वर्ग माइल) क्षेत्रको छवि खिच्न सक्छ, जुन लगभग न्यूयोर्क सिटीका पाँच बरोहरूको आकार बराबर हो।

स्पेस डटकमका अनुसार स्टार्टअपले प्राकृतिक विपद् प्रभावित क्षेत्रहरूको सूक्ष्म निरीक्षण उपलब्ध गराउने योजना बनाएको छ, जसले बीमा कम्पनीहरूलाई घरको छानासम्मको विवरण पत्ता लगाउन, क्षतिको सही मूल्याङ्कन गर्न, र जोखिमको सही मूल्याङ्कन गर्न सहयोग पुर्‍याउनेछ।

“हाम्रो बेलुन र स्विफ्ट्समार्फत बीमा कम्पनीहरूले विपद्पछि तुरुन्तै जानकारी प्राप्त गर्न, क्षतिको मूल्याङ्कन गर्न, र हप्तौं वा महिनाहरूको सट्टा केही दिनमै क्षतिपूर्ति दिन सक्छन्,” नियर स्पेस ल्याब्सकी सीईओ रिमा माटेभोस्यनले हालै सीएनबीसीसँग बताइन्। “हाम्रो बेलुनहरूले एकै उडानमा ८ लाख ड्रोनले गर्ने काम पूरा गर्न सक्छन्। यसले हाम्रो ग्राहकहरूको लागि छिटो, राम्रो, र सस्तो सेवा प्रदान गर्न सक्छ।”

यो नयाँ प्रविधि विशेषगरी अमेरिकी घर बीमा बजारका लागि लाभदायक मानिएको छ। जलवायु सम्बन्धित विपद्का कारण नष्ट भएका भवनहरूको संख्या बढ्दै जानु र महँगीका कारण घर पुनर्निर्माणको लागत बढ्नुले यो क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ। सन् २०२३ मा बीमा उद्योगले १५.२ अर्ब डलर घाटा व्यहोरेको थियो, जुन सन् २००० यताकै सबैभन्दा खराब हो।

दक्षिणपूर्वी अमेरिकामा हरिकेन र पश्चिमी क्षेत्रमा वनडढेलो जस्ता प्रकोपहरूको बढ्दो तीव्रता र आवृत्तिले फ्लोरिडा, क्यालिफोर्निया, र टेक्सास जस्ता उच्च-जोखिमयुक्त राज्यहरूबाट ठूला बीमा कम्पनीहरूलाई बाहिर जान बाध्य पारेको छ। यसले सम्पत्तिको मूल्य घटाएको छ र घरमालिकहरूलाई महँगो र सीमित बीमा विकल्पहरूमा निर्भर बनाएको छ।

नियर स्पेस ल्याब्सका अनुसार, यो समस्याको मुख्य कारण जलवायु जोखिम बढ्दै जाँदा बीमकहरूको सही मूल्याङ्कन क्षमतामा रहेको खाडल भएको स्पेस डटकमले उल्लेख गरेको छ।

“धेरै बीमा कम्पनीहरूले अझै पनि १९५० को दशकको हवाई डेटा सङ्कलन विधिहरूमा भर परिरहेका छन्,” माटेभोस्यनले भनिन्। “जब हरिकेन हेलिनबाट भएको २५० अर्ब डलर क्षतिको मात्र ६% बीमाले कभर गर्न सक्छ भने, यो स्पष्ट हुन्छ कि पुराना जोखिम मूल्याङ्कन विधिहरूले नकारात्मक प्रभावको श्रृंखला सिर्जना गरिरहेका छन्। कमजोर तथ्याङ्कले गलत नीति मूल्य निर्धारण जन्माउँछ, जसले बीमकहरूको घाटा बढाउँछ, र अन्ततः बीमा कम्पनीहरूलाई पूरा बजार त्याग्न बाध्य बनाउँछ। यसले घरमालिकहरूलाई फसाउँछ र बन्धकी प्राप्त गर्न असमर्थ बनाउँछ।”

६०,००० देखि ८५,००० फिट (१८,३०० देखि २५,९०० मिटर) उचाइमा उड्ने स्विफ्ट नेटवर्कले केही घण्टामा विस्तृत रूपमा ठूला विपद्-क्षेत्रहरूको नक्शा बनाउन सक्छ। यसले बीमा कम्पनीहरूलाई अवस्थाहरूमा आउने परिवर्तनलाई निरन्तर अनुगमन गर्न, जोखिमलाई बढी सटीक रूपमा मूल्याङ्कन गर्न, र बीमाको मूल्य निर्धारण सही रूपमा गर्न सहयोग पुर्‍याउँछ। यसले उनीहरूलाई पहिले त्यागेका बजारहरूमा फर्किन वा रहन सक्षम बनाउन सक्छ,” कम्पनीको बयानमा उल्लेख गरिएको छ।

यो उच्च-गुणस्तरको छविले बीमा कम्पनीहरूको समय र स्रोत बचत गर्छ, जसले अन्यथा जमिनमा मान्छे खटाएर क्षतिको मूल्याङ्कन गर्नुपर्ने हुन्थ्यो। नियर स्पेस ल्याब्सकी सीईओ रिमा माटेभोस्यनले बेस्ट्स रिभ्युसँगको अन्तर्वार्तामा बताइन्।

“हामी बीमा कम्पनीहरूलाई जस्तै जमिनको नमी मापन गरेर वनडढेलोको जोखिम मूल्याङ्कन गर्न र ती क्षेत्रहरूको नक्शा बनाउन मद्दत गर्ने तरिकाहरू अनुसन्धान गर्दैछौं, जसलाई पहिले उच्च जोखिमयुक्त मानिएको थिएन तर अहिले त्यस्ता क्षेत्र उच्च जोखिमयुक्त बनेका छन्,” उनले भनिन्।

“उदाहरणका लागि, कोलोराडोका केही इलाकाहरू मूल्याङ्कन गर्न धेरै कठिन छन् किनकि हाल वनडढेलोहरू तीव्र रूपमा सामान्य हुँदै गएका छन्।”

प्रकाशित: १५ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया