Technology Khabar १४ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
स्याङ्जाको आँधीखोला र फेदीखोला गाउँपालिकाका बासिन्दाले जलवायुबारे मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन्। जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमबारे मोबाइलबाटै खबर पाउने भएका हुन् ।
आक्स नेपालले युएसआइडीको जल जङ्गल परियोजनामार्फत दुई पालिकामा जलवायु मापन यन्त्र राखेर यहाँ केन्द्र स्थापना गरेको हो । मौसम मापनयन्त्र गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव तोयनाथ पौडेलले सोलारबाट मापनयन्त्रमा जोडिएको ब्याट्री चार्ज हुने र ब्याट्रिका माध्यमबाट यन्त्र चल्ने छ भने सोही यन्त्रबाट डिस्प्ले चल्ने र मौसमको जानकारी पाइने बताए।
डिस्प्लेमा आएको सूचना गाउँपालिकाका कर्मचारीका माध्यमबाट पालिकाभित्रका हरेक नागरिकको मोबाइलमा सन्देश पुग्ने आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताए । उनले मौसमको सन्देश पालिकाका सूचना अधिकृतको मोबाइलमा जाने र रेकर्ड भएको सन्देश पालिकावासीसम्म पठाउने बताए। एक हप्तासम्मको सूचना मापन यन्त्रमार्फत पूर्वअनुमान हुने र पालिकावासीको मोबाइलमा पुग्ने बताउँदै पौडेलले यस यन्त्रले पालिकावासीलाई राहत पुग्ने बताए।
यन्त्रमार्फत तापक्रम, हावाको गति, वर्षालगायतबारे थाहा पाइने छ भने उक्त सूचना पालिकावासीलाई पठाइने छ।
मौसम मापनयन्त्र गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव पौडेलले दुवै पालिकालाई उक्त यन्त्र हस्तान्तरण गरेका हुन। समयमै मौसमको सूचना तथा जानकारी प्राप्त गर्दा स्थानीयवासीलाई ठुलो फाइदा पुग्ने सचिव पौडेलले बताए।
मापनयन्त्र आक्स नेपालले सात/सात लाख रुपियाँमा खरिद गरेर दुई पालिकालाई दिएको आक्सका अध्यक्ष रुकुमदत्त पौडेलले बताए। पोखरानजिक तथा हिमाल देखिने पालिका भएको र आफूले काम गरेको पालिका भएकाले दुई पालिका रोजेको पौडेलले बताए।
पहिलो चरणमा आँधीखोलाले वडा नं. ४ र फेदीखोलाले वडा नं. ४ र ५ का बासिन्दाको मोबाइल नम्बर सङ्कलन गरेको छ भने सो सकेसँगै सबै वडामा क्रमशः पालिकावासीको नम्बर सङ्कलन गरेर मौसमको सन्देश पठाइने छ। मापनयन्त्र राखिएसँगै यहाँका कृषक, विद्यार्थी, वृद्धलगायतलाई मुख्य राहत मिल्ने देखिएको छ। गोरखापत्रबाट
प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार