Technology Khabar १४ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
चीनको बाइटडान्सले एक पूर्व-इन्टर्नविरुद्ध ११ लाख डलर (८० लाख युआन) क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ। उसले पूर्व-इन्टर्न टियन केयुलाई आफ्नो एआई लार्ज ल्याङ्ग्वेज मोडेल तालिम संरचना एआई एलएलएममाथि जानाजान आक्रमण गरेको आरोप लगाएको छ। यो मुद्दाले चीनमा चलिरहेको तीव्र एआई प्रतिस्पर्धाका बीच धेरै ध्यान खिचेको छ।
टिकटकको मूल कम्पनी बाइटडान्सले यो मुद्दा बेइजिङस्थित हेडियन जिल्ला जन अदालतमा दायर गरेको हो, जसको बारेमा यसै हप्ता सरकारी स्वामित्वको लीगल वीकली पत्रिकाले रिपोर्ट गरेको छ।
चीनमा कम्पनी र कर्मचारीबीचको मुद्दा सामान्य भए पनि इन्टर्नविरुद्ध यति ठूलो रकम माग गर्दै कानुनी कारबाही हुनु असामान्य मानिन्छ।
यो मुद्दाले एआई एलएलएम तालिममा केन्द्रित भएकाले झन् चासो पाएको छ। यो प्रविधिले जेनेरेटिभ एआईको रूपमा विश्वव्यापी ध्यान आकर्षण गरेको छ जसले ठूलो डाटा प्रयोग गरी टेक्स्ट, तस्बिर वा अन्य नतिजा उत्पादन गर्छ।
बाइटडान्सले बिहीबार यस मुद्दामा टिप्पणी गर्न अस्वीकार गर्यो। अन्य चिनियाँ मिडियाले पेकिङ विश्वविद्यालयको स्नातकोत्तर विद्यार्थी भनेर चिनाएको टियनले इमेलमार्फत पठाइएका सन्देशहरूमा तुरुन्त प्रतिक्रिया जनाएनन्।
लीगल वीकली का अनुसार, बाइटडान्सको आन्तरिक नोटमा टियनमाथि कोड हेरफेर र अनुमतिविनै परिमार्जन गरेर टोलीको मोडेल तालिम कार्यहरूमा अवरोध पुर्याएको आरोप लगाइएको छ।
अक्टोबरमा सामाजिक सञ्जालमा गरिएको पोष्टमा, बाइटडान्सले उक्त इन्टर्नलाई अगस्तमै बर्खास्त गरिएको बताएको थियो। साथै, कम्पनीले मुद्दाका कारण लाखौं डलर घाटा भएको र ८,००० भन्दा बढी ग्राफिक्स प्रोसेसिङ युनिट्स प्रयोग भएको भन्ने हल्लाहरू “गम्भीर रूपमा बढाइचढाइ गरिएको” भनेको छ।
प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार