जापानको प्रतिस्पर्धा विरोधी नियामकद्वारा अमेजनको कार्यालयमा छापा

  • Technology Khabar | १२ मंसिर २०८१, बुधबार
जापानको प्रतिस्पर्धा विरोधी नियामकद्वारा अमेजनको कार्यालयमा छापा

काठमाडौं ।

जापानको फेयर ट्रेड कमिसनले मंगलबार अमेजन जापानको कार्यालयमा छापा मारेको छ। यस कम्पनीले एकाधिकारविरोधी कानून उल्लङ्घन गरेको आशंकामा यो छानबिन गरेको एक सरकारी स्रोतले जानकारी दिएको छ।

अमेजन डटकम इंकको यो इकाईले आफ्ना इ-कमर्स साइटमा बिक्रेताहरूलाई उत्पादनलाई प्रमुख स्थान दिनुको बदलामा अनावश्यक रूपमा मूल्य घटाउन दबाब दिएको आशंका गरिएको रोयटर्सले उल्लेख गरेको छ।

“अमेजन जापानले बिक्रेताहरूलाई अव्यवहारिक रूपमा मूल्य घटाउन बाध्य गरिरहेको आशंका छ,” स्रोतले भने। आधिकारिक घोषणा अझै जारी नभएकाले आफ्नो नाम नबताउने सर्तमा उनले यो जानकारी दिएका हुन्।

अमेजन जापानले यस विषयमा जान्नका लागि पठाइएको इमेलमा कुनै प्रतिक्रिया दिएन।

युरोपेली प्रतिस्पर्धा नियामकहरूले महत्त्वपूर्ण नियमहरूको आधारमा मुद्दा तयार गर्दै गर्दा, अमेजनले आफ्नो अनलाइन बजारमा आफ्नै ब्रान्डका उत्पादनलाई प्राथमिकता दिएको हो कि भनेर ईयूले अर्को वर्ष छानबिन गर्ने सम्भावना रहेको छ भनेर रोयटर्सले गत साता रिपोर्ट गरेको छ।

जापानी नियामकले यसअघि २०१८ को मार्चमा अमेजन जापानको कार्यालयमा छापा मारेको थियो। कम्पनीले आपूर्तिकर्तालाई छुट मूल्यमा उत्पादन बेच्दा लागेको केही लागत बोक्न दबाब दिएको आशंकामा यो छानबिन गरिएको थियो। त्यसै वर्ष सेप्टेम्बरमा अमेजन जापानले व्यापार प्रथामा सुधार गर्ने योजना प्रस्तुत गरेपछि अधिकारीहरूले स्वीकृति दिएका थिए।

प्रकाशित: १२ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार