Technology Khabar १० मंसिर २०८१, सोमबार
काठमाडौं ।
गत भदौमा क्रिप्टोकरेन्सी तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा पक्राऊ परेका तीन जना विदेशीसहित ५० अभियुक्तलाई पूर्पक्षका लागि कारागाल चलान भएका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट गत भदौ २६ गते खटीगएको प्रहरी टोलीले तीन जना विदेशी नागरिकहरु सहित ५० जना व्यक्तिहरुलाई कल सेन्टरमा अपराध गर्न प्रयोग गरिएका कम्प्युटर, मोबाईल लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरु सहित नियन्त्रणमा लिएको थियो।
विदेशी नागरिकहरुले नेपाली नागरिकहरुको समेत मिलेमतोमा ललितपुर महानगरपालिका वडा नं १३ एकान्तकुना स्थित जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीहरुलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैह्रकानूनी रुपमा काममा लगाई अभौतिक क्रिप्टो मुद्रा कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो।
प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट हिञ्जी, बम्बल, इन्साह, मुस्लिमा, सलाम, मुज, ओकेक्युपिड, अल्खत्बा लगायतका डेटिङ एपहरुमा विदेशी महिलाको फोटो प्रोफाइल पिक्चरका रुपमा प्रयोग गरी युरोप, अमेरिका र क्यानडा लगायतका विभिन्न देशहरुका पुरुष ब्यक्तिहरुलाई साथी बनाई घनिष्ट मित्रता कायम गर्न लगाउने गरेका थिए।
मित्रता कायम गरेपछि अनलाइन प्लेटफर्म ह्याशप्याकमार्फत बाइनान्स, ट्रस्टवालेट लगायतका विभिन्न डिजिटल वालेटहरुमा अमेरिकी डलर जम्मा गरी सो मार्फत गैह्रकानूनी अभौतिक मुद्रा क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाई सो को कारोबार समेत सञ्चालन गर्ने कल सेन्टरको रुपमा कार्य गर्ने गरेको सीआईबीले जनाएको छ।
पक्राउ गरिएका विदेशी नागरीक सहितका नेपाली व्यक्तिहरु केही समय अगाडी संयुक्त अरब ईमिरेट्समा सोही प्रकृतिको कारोबारमा समेत संलग्न भएको अभियोगमा पक्राउ परी सम्बन्धित देशहरुमा फिर्ता भएकोमा निजहरु पुन: नेपालमा एकीकृत भई कल सेन्टर खोली अभौतिक मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको प्रहरीको भनाई छ।
प्रहरफले क्रिप्टोकरेन्सी कारोबार कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सम्पन्न पश्चात चिनियाँ नागरिक लिन किङ्जिन, डिङ जियाहोङ र फिलिपिनी नागरिक हनिपा सिन्सुआत अपायार्त तथा नेपाली नागरिक कमल कंडेल समेतका ३६ जनालाई प्रतिवादी बनाएको थियो।
उनीहरुले कल सेण्टर सञ्चालन क्रिप्टो कारोबार गरेको अधिकतम १० करोड ३४ लाख ९३ हजार ५४९ रुपैयाँ ५ पैसाको बिगो मागदावी गरी अदालतमा मुद्दा दायर भएकोमा ललितपुर जिल्ला अदालतको मंसिर ९ गतेको आदेशले चिनियाँ नागरिक लिन किङ्जिन, डिङ जियाहोङ र फिलिपिनी नागरिक हनिपा सिन्सुआत अपायार्त पूर्पक्षको लागि कारागार चलान भएको र अन्य प्रतिवादीहरुलाई धरौटीमा छाडेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी होविन्द्र बोगटीले जानकारी दिए।
प्रकाशित: १० मंसिर २०८१, सोमबार