Technology Khabar १० मंसिर २०८१, सोमबार
काठमाडौं ।
जनकपुरधाममा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ १० औँ उद्योग दिवस भव्यताका साथ मनाइएको छ। आइतबार जनकपुरधामस्थित जनकपुरधाम उद्योग वाणिज्य सयको सभा हलमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाद्वारा दिवसका अवसरमा आयोजित कार्यक्रम भव्यताका साथ मनाइएको हो।
कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अली मियाँले प्रदेशका उद्योगी व्यवसायीलाई प्रवर्धन तथा प्रोत्साहन गर्न आवश्यक रहेको बताए। उनले उद्योगलाई प्रवर्धन तथा उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न मधेश सरकारले पनि स्टार्टअप कार्यक्रमको योजना बनाइरहेको बताए।
उनले भने, “संघले उपलब्ध गराए जति रकम उपलब्ध गराउन प्रदेशले नसके पनि केहो रकम उपलब्ध गराएर उद्योगोलाई सहयोग गर्ने छ। जसले गर्दा उद्योगी व्यवसायीलाई उद्योग सञ्चालनमा सहयोग मिल्ने छ।”
उनले प्रदेशका उद्योगलाई चलायमान र अग्रसर बनाउन विज्ञसँगको सुझावमा उद्योग सञ्चालन गर्ने योजना प्रदेश सरकारको रहेको जानकारी दिए। “थुप्रै उद्योग बन्द भइरहेका छन् र कतिपय बन्द हुने तरखरमा छन्। यस्तोमा विज्ञको आवश्यकता देखिएको हुँदा प्रदेश सरकारले विज्ञ राखेर उद्योग सञ्चालन गर्ने योजनासमेत बनाएको छ.” उनले भने।
मन्त्री मियाँले प्रदेशको औद्योगिक विकासलाई द्रुतगतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउँदै भने, “मधेश प्रदेशको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलताको विकास अत्यन्त आवश्यक छ। यसका लागि प्रदेश सरकार नीतिगत सुधार र सहकार्यका लागि तत्पर छ।”
यस्तै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले उद्योगले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा उद्योग सञ्चालन गर्न शान्तिपूर्ण वातावरणको प्रत्याभूति गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको रहेको बताए।
उद्योग दिवसका अवसरमा उद्यमी शाकाहारी भान्सा परिकार उद्योगको सञ्चालक प्रमशिला देवी र आरपी सर्फ एन्ड साबुन उद्योगका सञ्चालक सरोजकुमार साहलाई सम्मानित गर्दै स्थानीय उत्पादन प्रवर्धन, रोजगारी सिर्जना र आत्मनिर्भरताको महत्त्वमाथि चर्चा हुनुपर्ने कार्यक्रमका वक्ताले बताएका थिए।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख सन्तोषकुमार साहले छरिएर रहेका अनौपचारिक अर्थतन्त्रलाई औपचारिक तन्त्रमा परिणत गर्ने नाराको मूल उद्देश्य रहेको बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका जनकपुरधामका प्रमुख हस्तबहादुर राईलगायतका उद्योगी व्यवसायोसहितको उपस्थिति रहेको थियो।
आजको गोरखापत्रबाट
प्रकाशित: १० मंसिर २०८१, सोमबार