चीनको अन्तरिक्ष यातायातले अर्को वर्ष स्पेसप्लेनको प्रोटोटाइप परीक्षण उडान गर्ने

Technology Khabar १० मंसिर २०८१, सोमबार

काठमाडौं ।

बेइजिङमा आधारित स्पेस ट्रान्सपोर्टेशन लिङकङ तियानशिङ टेक्नोलोजीले २०२५ को पूर्वार्द्धसम्म आफ्नो “कुआन्टियनहोउ” नामक पुनःप्रयोग गर्न सकिने स्पेसप्लेनको पहिलो परीक्षण गर्ने योजना बनाएको छ।

अक्टोबरको अन्त्यतिर कम्पनीले माक ४ गतिमा उड्न सक्ने व्यवसियक ट्रान्सपोर्ट प्लेनको प्रोटोटाइपको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यो स्पेसप्लेन ठोस रकेट बूस्टर प्रयोग गरेर भर्टिकल टेकअफ गर्ने र सक्रिय ब्रेकिङद्वारा भर्टिकल ल्यान्ड गर्ने प्रणालीमा आधारित हुने स्पेसन्युज डटकमले उल्लेख गरेको छ।

आन्टियनहोउ प्रोटोटाइप ११.८ मिटर लामो, ४.४ मिटर चौडा पखेटा भएको र ४,५०० किलोग्राम तौलको हुनेछ। यो २० किलोमिटरभन्दा माथिको उचाइमा माक ४ गतिमा ३,००० किलोमिटरको दायरा पूरा गर्न सक्षम हुनेछ। कम्पनीले यसमा रोटेटिङ डेटोनेसन इन्जिन प्रयोग गर्ने योजना बनाएको छ।

कम्पनीले २०२७ सम्म दुई यात्रु बोक्न सक्ने पाइलटबिहीन स्पेसप्लेन तयार गर्ने लक्ष्य राखेको छ। यसै गरी, २०३१ सम्म ५० यात्रु क्षमताको ३० मिटर लामो, ७० टन तौलको माक ५ गतिमा उड्न सक्ने ठूलो स्पेसप्लेन निर्माण गर्ने योजना छ।

कम्पनीका महाप्रबन्धक फान डेङका अनुसार हाइपरसोनिक टेक्नोलोजी विकासमा प्राविधिक चुनौतीहरूसँगै अन्तर्राष्ट्रिय हवाई नीतिहरू र सुरक्षा मापदण्डका अवरोधहरूसँग सामना गर्नुपर्नेछ। कम्पनीले भविष्यमा अन्तर्राष्ट्रिय साझेदारीहरू विस्तार गर्न युरोपमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयास गरिरहेको जनाएको छ।

स्पेस ट्रान्सपोर्टेशनले चिनियाँ राज्य-संलग्न र निजी स्रोतहरूबाट करोडौँको लगानी प्राप्त गरेको छ र यसले चीनको विशाल बजारलाई आफ्नो प्रमुख फाइदा मानिरहेको छ।

प्रकाशित: १० मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया