डिजिटल सवारी चालक अनुमति पत्र नियमनको लागि ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण

Technology Khabar ९ मंसिर २०८१, आईतवार

काठमाडौं ।

काठमाडौं, डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले उक्त मोबाइल फोन हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताए। यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उनले व्यक्त गरे।

कार्यक्रममा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताए। आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनले बताए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, ई-सेवाका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ९ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया