Technology Khabar ९ मंसिर २०८१, आईतवार
काठमाडौं ।
विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। राहदानीको अनलाइन इनरोलमेन्ट का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध हुन पुगेको हो।
राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प रहेकाले सेवाग्राही मर्कामा परेका छन्। यसबाट नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवोकरण गर्नेलगायत राहदानोसम्बन्धी सबै कार्य अवरुद्ध रहेको जनाइएको छ।

दुई दिनदेखि सेवाग्राहीले अनलाइनमार्फत आफैँले भर्न सक्ने सेवासमेत अवरुद्ध भएकाले सेवाग्राही पनि तनाबमा परेका छन्। सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवामार्फत राहदानी पाउने सुविधासमेत नपाउँदा धेरै नागरिकको विदेशयात्रा पनि प्रभावित बनेको गुनासो सेवाग्राहीले गरेका छन्। विभागले राहदानीको तथ्याङ्क व्यवस्थापनमा समस्या देखा परेकाले सेवा प्रभावित बनेको जनाएको छ।
अनलाइनमार्फत राहदानी सेवा सञ्चालन गरिरहेको विभाग सर्भरसँग जोडिएको कम्प्युटरमा भाइरस आक्रमण भएपछि तनावमा परेको जनाइएको छ। विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार केही जिल्लास्थित राहदानी सेवा दिइरहेका कम्प्युटरमा भाइरस आक्रमण भएको हो।
उनले भने, ‘फाराम भर्ने र यता पठाउने स्थानीय ठप्प फाराम भर्ने र यता पठाउने स्थानीय कम्प्युटरमार्फत भाइरस आक्रमण भएको देखियो। त्यसले सबै सिस्टममा असर पार्ने भएकाले केन्द्रको सिस्टमसँग जोडिएको सर्भर नै बन्द गर्नु परेको हो।’
सर्भरसँग जोडिएका कम्प्युटर र सफ्टवेयरमा भाइरस आक्रमण हुँदा त्यो सर्भरमार्फत फैलिएको खण्डमा राइदानीको एकीकृत प्रणाली नै बन्द हुन सक्छ। त्यसैले समस्याको सबै चुरो पत्ता लगाएर समाधान गर्न विभाग लागिपरेको महानिर्देशक अर्यालले जानकारी दिए।
सकेसम्म छिटो सेवा सञ्चालन गर्न उच्चस्तरकै प्रयास भइरहेको विभागले जनाएको छ । अफलाइन हुन सक्ने काम भने विभागमा भइरहेको छ। विभागका प्राविधिकले मात्र नपुगेर विदेशबाटसमेत प्राबिधिक बोलाएर भविष्यमा हुन सक्ने सम्भावित चुनौतीको विश्लेषणसहित समाधान गर्नुपर्नेमा जोड दिइएको महानिर्देशक अर्यालले बताए।
पहिले त कसरी र कहाँबाट भाइरस आक्रमणको समस्या आयो र भविष्यमा यस्तै समस्या देखिएमा कसरी जाने भन्ने योजना पनि बनाउन आवश्यक रहेकाले त्यसको विश्लेषणसमेत गरिने जानकारी उनले दिए। राहदानी विभागको प्रविधि उच्चकोटीको मानिन्छ। तथापि बेला बेलामा सर्भरमै असर पर्ने गरी समस्या भने आउन छाडेको छैन।
प्राविधिक विषय भएकाले अनलाइन इनरोलमेन्ट रोकिँदा त्यसको असर छपाइसम्म पर्न गएको छ । विभागमा दैनिक झन्डै छ हजार पाँच सय प्रति विद्युतीय राहदानीका लागि आवेदन आउने गरेको छ। सोही अनुसार राहदानी वितरण गरिने गरिएको विभागले जनाएको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ९ मंसिर २०८१, आईतवार