
काठमाडौं ।
अमेरिकी अर्बपति र सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ का मालिक एलन मस्कले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलियाको प्रस्तावित कानुनको आलोचना गरेका छन्।
यो कानुनले कम्पनीहरूलाई बारम्बार उल्लङ्घन गरेमा ४९.५ मिलियन अष्ट्रेलियन डलर (३२ मिलियन अमेरिकी डलर) सम्म जरिवाना गर्ने प्रावधान राखेको छ।
अस्ट्रेलियाको केन्द्रप्तरि झुकाव राख्ने वामपन्थी सरकारले बिहीबार यो विधेयक संसदमा पेश गरेको हो। सामाजिक सञ्जालमा उमेरको सीमा लागू गर्न उमेर प्रमाणिकरण प्रणाली प्रयोग गर्ने सरकारको योजना छ। यो विधेयक हालसम्म कुनै पनि देशले लागू गर्न खोजेको सबैभन्दा कडा नियन्त्रण मानिएको छ।
मस्कले प्रधानमन्त्री एन्टोनी अल्बानीजले ‘एक्स’ मा गरेको पोस्टको जवाफमा भनेका छन्, “यो सबै अस्ट्रेलियालीहरूको इन्टरनेट पहुँच नियन्त्रण गर्ने गुप्त तरीका जस्तो देखिन्छ।”
केही अन्य देशहरूले पनि कानुनमार्फत बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने प्रयास गरेका छन्। तर, अस्ट्रेलियाको प्रस्ताव सबैभन्दा कडा मानिएको छ। यसले अभिभावकीय सहमति र पहिलेका खाता भएका प्रयोगकर्ताहरूलाई पनि छुट दिने छैन।
फ्रान्सले गत वर्ष १५ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो, जसले अभिभावकीय सहमतिको अनुमति दिन्छ। यता, अमेरिकाले १३ वर्षमुनिका बालबालिकाको डाटा संकलन गर्न प्रविधि कम्पनीहरूले अभिभावकीय सहमति लिनुपर्ने प्रावधान राखेको छ, तर पूर्ण प्रतिबन्ध छैन।
मस्कले यसअघि पनि अस्ट्रेलियाको मध्य-बायाँ सरकारको सामाजिक सञ्जाल नीतिहरूको आलोचना गरेका थिए। मिथ्या सूचनासम्बन्धी कानुनको विरोध गर्दै उनले सरकारलाई “फासिस्ट” भनेका थिए।
यस वर्ष अप्रिलमा, ‘एक्स’ ले सिड्नीमा एक बिशपको छुरा प्रहार घटनाबारेका पोस्टहरू हटाउन अस्ट्रेलियाको साइबर नियामकको आदेशको विरोधमा अदालत गएको थियो। त्यसपछि प्रधानमन्त्री अल्बानीजले मस्कलाई “घमण्डी अर्बपति” भनेका रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ८ मंसिर २०८१, शनिबार