
काठमाडौं ।
मोटोरोलाले भारतीय स्मार्टफोन बजारमा गति लिइरहेको छ। आईडीसीको पछिल्लो तथ्याङ्क अनुसार, अमेरिकी कम्पनीको भारतीय स्मार्टफोन बजारमा सन् २०२४ को तेस्रो त्रैमासिकमा ५.७ प्रतिशत सेयर रहेको उल्लेख छ।
अघिल्लो वर्षको सोही त्रैमासिकमा मोटोरोलाको सेयर २.४ प्रतिशत रहेको थियो। साथै १४९.५ प्रतिशतको यो विशाल वृद्धि अन्य कुनै स्मार्टफोन ब्रान्डको समान अवधिमा नभएको थप उल्लेख गरिएको छ।
भिभोले हाल सन् २०२४ को तेस्रो त्रैमासिकमा १५.८ प्रतिशत सेयरको साथ भारतीय स्मार्टफोन बजारको नेतृत्व गरि रहेको छ। त्यसपछि ओप्पोको १३.९ प्रतिशत बजार हिस्सा र सामसङको १२.३ प्रतिशत बजार हिस्सा रहेको बताइएको छ। एप्पल भने ८.६ प्रतिशत बजार हिस्साका साथ छैठौं स्थानमा रहेको छ।
मोटोरोला पछि, आईकू ले सन् २०२४ को तेस्रो त्रैमासिकमा (२०२३ को तेस्रो त्रैमासिकको तुलनामा) ४.२ प्रतिशतको बजार हिस्साको साथ १०१.४ प्रतिशतको सबैभन्दा ठूलो छलाङ लगाएको उल्लेख छ।
यद्यपि वान प्लसले भने कठिन समयको सामना गरिरहेको र ३९.३ प्रतिशत घाटा दर्ता गर्दै यसको बजार हिस्सा ६.२ प्रतिशत बाट ३.६ प्रतिशतमा घटेको उल्लेख गरिएको छ। त्यसका साथै वानप्लस भारतीय स्मार्टफोन बजारमा मोटोरोलाभन्दा पछाडि परेको थप उल्लेख गरिएको छ।
यस वर्षको सुरुमा, लेनोभो एशिया प्यासिफिकमा मोबाइल व्यापार समूहका कार्यकारी निर्देशक प्रशान्त मणिले भोल्युमको आधारमा कम्पनीको १०० प्रतिशत वृद्धि भएको खुलासा गरे जुन सन् २०२३ को जस्तै भएको बताइएको छ र यो वर्ष पनि यो क्रम जारी रहने अपेक्षा गरिएको छ।
सन् २०२३ मा ५ प्रतिशत रहेको कम्पनीको बजार हिस्सा यो वर्ष ८–१० प्रतिशत मा दोब्बर हुने अनुमान छ। यद्यपि यो बिन्दुमा गाह्रो देखिए तापनि पछिल्ला केही क्वार्टरहरूमा यसको वृद्धि प्रभावशाली रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ। 
प्रकाशित: ५ मंसिर २०८१, बुधबार