एक्यापद्वारा अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

  • Technology Khabar | ४ मंसिर २०८१, मंगलवार
एक्यापद्वारा अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जफत गरेका स्पिकरहरु। तस्बिर साभार- गजेन्द्र बुढाथोकीको एक्स पोस्टबाट। फाइल

काठमाडौं ।

पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ। चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।

आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गरे। “आधार शिविर पुग्नुअगावै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेका छौँ”, उनले भने, “अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत गर्छौं।”

पदयात्रामा जाने कतिपयले पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजना प्रमुख डा कडरियाले बताए। आयोजना कार्यालयले उक्त कार्यमा कडाइ सुरु गरेपछि पर्यटकले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमै त्यस्ता ध्वनि यन्त्र राखेर आधार शिविरतर्फ जान थालेका छन्।

शान्त र प्रकृतिमय वातावरणमा पदयात्रा गर्न बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्। आयोजना प्रमुख डा कडरियाका अनुसार अनुमतिबिना उक्त क्षेत्रमा ‘ड्रोन’ क्यामरा पनि प्रयोग गर्न पाइँदैन । कसैले अटेर गरी ‘ड्रोन’बाट आधार शिविरको दृश्य कैद गरेमा क्यामरा जफत गरिने उनको भनाइ छ।

अन्नपूर्ण आधार शिविरसहित ‘एक्याप’भित्र पर्ने पर्यटकीय गन्तव्यस्थलको सरसफाइ अभियान पनि चलिरहेको आयोजना प्रमुख डा कडरियाले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा उक्त अभियान थालिएको हो। आयोजना कार्यालयले अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाएको छ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ।

बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने चर्चित पर्यटकीय गन्तव्यस्थल हुन् । रासस

प्रकाशित: ४ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया