काठमाडौं ।
चीनको ह्वावे टेक्नोलोजिजले सोमबार आफ्नो मेट ७० स्मार्टफोनको प्रि-अर्डर सुरु गरेको घोषणा गरेको छ । यसबारे कम्पनीले आफ्नो आधिकारिक वीच्याट एकाउन्टमा जानकारी दिएको हो।
रोयटर्सका अनुसार कम्पनीले नोभेम्बर २६ मा मेट ब्रान्डको लागि एउटा कार्यक्रम गर्ने पनि जनाएको छ जहाँ नयाँ स्मार्टफोन लाइन-अप सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
कम्पनीको अनलाइन स्टोरमा सोमबारदेखि मेट ७० र दुईवटा प्रो भर्सन रिजर्भ गर्न सकिने व्यवस्था गरिएको छ जसका लागि अग्रिम रकम तिर्नुपर्ने छैन। तर वेबसाइटमा मूल्यको जानकारी दिएको छैन।
ह्वावेले गत वर्ष मेट ६० फोनमार्फत फाइभजी प्रिमियम स्मार्टफोन बजारमा पुन: प्रवेश गरेको थियो, जसमा चीनमै उत्पादन गरिएको चिपसेट प्रयोग भएको थियो।
यी फोनहरूलाई चीनमा अमेरिकी प्रतिबन्धहरूमाथि जितको रूपमा स्वागत गरिएको छ, जसले २०१९ देखि कम्पनीलाई उन्नत अमेरिकी चिप्स र अन्य प्रविधिहरू पहुँच गर्न रोकिरहेको थियो।
प्रकाशित: ४ मंसिर २०८१, मंगलवार