Technology Khabar ३ मंसिर २०८१, सोमबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदको लागि आवेदन माग गरेको छ। मन्त्रालयले आज एक सूचना प्रकाशित गरी उक्त पदका लागि आवेदन दिन योग्यता पुगेका सबैमा आग्रह गरेको हो।
यसअघि उक्त पदमा विकल पौडेल कार्यरत रहेका थिए।
सरकारले २०७९ जेठ १६ गते सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको विवादित छविका विकल पौडेलसहित ९ जनाविरुद्ध २०८० वैशाख ३ गते भ्रष्टाचार मुद्दामा जेल चलान भएपछि उक्त पद रिक्त रहेको थियो।
पौडेल लगायत अन्य गरी ९ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ तथा दफा ३५ बमोजिम मुद्दा दायर भएको थियो।
अख्तियार दुरुपयोग मुद्दा दायर भएपछि उनलाई पदबाट निलम्बन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग थुनामा राखिएकोमा २०८० फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो।
उनी पदबाट हटेको करिब एक वर्षपछि सरकारले नयाँ कार्यकारी निर्देशक खोजेको हो।
सूचना अनुसार सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०६१ को दफा १९ बमोजिम कार्यकारी निर्देशक पदमा उम्मेदवार हुन ईच्छुक व्यक्तिको योग्यता योग्यता निम्न अनुसार हुनुपर्नेछ:
(क) कम्तीमा तीस वर्ष उमेर पूरा भएको
(ख) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको।
(ग) व्यवस्थापकिय तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको, (“व्यवस्थापकीय तह” भन्नाले सरकारी सेवामा सहसचिव वा सोसरह वा सोभन्दा माथि वा सार्वजनिक संगठित संस्था वा निकायमा दशौ तह वा सोभन्दा माथि वा कानून बमोजिम दर्ता भएको कम्पनी / संस्थामा कार्यकारी निर्देशक वा प्रबन्ध निर्देशक वा सोभन्दा माथिको कार्यकारी पदमा रही काम गरेको अनुभवलाई जनाउनेछ।)
(घ) भविष्यमा सरकारी सेवा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व रहेको संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको
(ङ) भ्रष्टाचार, जबरजस्ती करणी, लैंगिक हिंसा, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण, संगठित अपराध वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको
(च) कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको।
(छ) प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको।
माथि उल्लिखित योग्यता पुगेका इच्छुक व्यक्तिले सिफारिस समितिमा दरखास्त पेश गर्दा निम्नलिखित कागजातहरू संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ :
(क) नियुक्ति हुन चाहेको व्यहोरा खुल्ने दरखास्त
(ख) योग्यता तथा अनुभव समेत खुल्ने व्यक्तिगत विवरण
(ग) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
(घ) शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाको योग्यता भए समकक्षताको प्रमाणपत्र समेत),
(ङ) अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि।
यसरी दिनुहोस् आवेदन
माथि उल्लिखित कागजात संलग्न गरी सेवा अवधि खुल्ने गरी नेपाली भाषामा ए४ साइजको कागजमा तयार गरिएको कम्तिमा ३००० देखि बढीमा ५००० शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना (कम्प्यूटर टाइप गरिएको पहिलो पृष्ठ (Cover Page) को सबैभन्दा माथि आफ्नो नाम लेखिएको, अन्य पृष्ठको पश्च भागमा आवेदकले दस्तखत गरेको, अन्य अग्र पृष्ठमा कहिकतै पनि नाम वा आफूलाई चिनाउने कुनै संकेत नभएको साथै दरखास्तसाथ व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण समेत छुट्टै खाममा सिलबन्दी गरी दरखास्तसाथ पेश गर्नु पर्नेछ)
यसबाहेक आवेदकले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको नभएको लगायतको विषयको स्वः घोषणा गर्नुपर्ने, पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सोको प्रतिलिपि संलग्न गर्नुपर्ने र दरखास्त साथ पेश गरिएका नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको प्रमाणपत्रको हकमा आवेदकबाट प्रमाणित भएको हुनुपर्ने प्रावधान राखिएको छ।
कोषको कार्यकारी निर्देशकको पदमा दरखास्त पेश गर्ने अन्तिम म्याद यो सूचना प्रकाशित भएको मितिले दशौं दिनभित्र र सो दिनमा सार्वजनिक विदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनसम्म राखिएको छ।
दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा बुझाउन सकिने र उम्मेदवारले पेश गरेको व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतिकरण र अन्तरवार्ताको मूल्यांकनका आधारमा नियुक्तिको लागि सिफारिस गरिने सूचनामा जनाइएको छ।
मन्त्रालयका अनुसार रीत नपुगी आएको र समयभित्र प्राप्त नभएको दरखास्त उपर कुनै कारवाही गरिने छैन भने दरखास्तसँगै उम्मेदवारले स्वः घोषणा समेत पेश गर्नुपर्नेछ। स्वः घोषणाको ढाँचा तथा स्वीकृत कार्यविधि मन्त्रालयको वेबसाइट www.mocit.gov.np बाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।
यी समाचार पनि हेर्नुस्-
सुरक्षण मुद्रण केन्द्र प्रकरण: डा. बैकुण्ठ अर्यालसहितलाई सफाई, विकल पौडेल र सफल श्रेष्ठ दोषी ठहर
सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलमाथि हुण्डीसम्बन्धी मुद्दा
विकल पौडेललाई सुरक्षण मुद्रण केन्द्रको मुद्दामा २ वर्ष कैद र २५ करोड जरिवाना, पाँच जनाले पाए सफाई
सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद मुद्दामा विकल पौडेललाई थुनामै राख्ने विशेष अदालतको आदेश
प्रकाशित: ३ मंसिर २०८१, सोमबार