ब्राजिलकी प्रथम महिलाद्वारा जी–२० शिखर सम्मेलनअघि इलन मस्कको अपमान

Technology Khabar ३ मंसिर २०८१, सोमबार

काठमाडौं ।

ब्राजिलकी प्रथम महिला रोजाङ्गेला ‘जान्जा’ दा सिल्भाले शनिबार एक्सका अर्बपति मालिक इलन मस्कको अपमान गरेकि छन। जी–२० शिखर सम्मेलनअघिको एक कार्यक्रममा उनले सामाजिक सञ्जालको कडा नियमनको पक्षमा वकालत गरिन्।

दुष्प्रचारबारे एक प्यानल छलफलमा बोल्दै गर्दा उनी चर्को आवाजले चकित भएको देखिएकी थिईन। “मलाई लाग्छ यो इलन मस्क हो”, उनले भनिन, “म तपाईंसँग डराउँदिन, तपाईंलाई धिक्कार छ, इलन मस्क।”

यस घटनाको भिडियो एक्समा छिटै फैलियो । यसबाट यसका बोल्ने स्वभावका मालिकबाट प्रतिक्रिया आयो । “उहाँहरूले अर्को चुनाव हार्नुहुनेछ”, दुईओटा हाँस्ने इमोजी थप्दै मस्कले लेखे।

टाइकुन तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको प्रशासनका भावी सदस्यको ब्राजिलसँग जटिल इतिहास छ। देशको सर्वोच्च अदालतले दुष्प्रचारसम्बन्धी कानूनी विवादको हिस्साका रूपमा यस वर्ष एक्सलाई ४० दिनका लागि निलम्बन गरेको थियो।

वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दुष्प्रचारविरुद्धको वैध उपायका रूपमा निलम्बनलाई स्वागत गरे।

मस्क अति–दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका मित्र हुन्। बोल्सोनारोले देशको निर्वाचन प्रणालीलाई बदनाम गरेको अभियोगमा अयोग्य ठहरिएपछि पनि सन् २०२६ मा फेरि चुनाव लड्ने सङ्केत गरेका छन्।

बोल्सोनारोले शनिबार प्रथम महिलाको विवादास्पद टिप्पणीको स्क्रिन सट पोस्ट गरे। “अब हामीसँग अर्को कूटनीतिक समस्या छ”, उनले लेखे।

शीर्ष अर्थतन्त्रहरूको जी–२० शिखर सम्मेलन सोमबार र मङ्गलबार रियो दि जेनेरियोमा हुनेछ। रासस/एएफपी

प्रकाशित: ३ मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया