Technology Khabar ३० कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
पञ्चेश्वर गाउँपालिकाले गरिब, दलित, विपन्न, अपाङ्गता भएका र जेहेनदार विद्यार्थीलाई पशु प्राविधिक कृषि प्राविधिक, सिभिल इन्जिनियर र कम्युटर प्राविधिक शिक्षा पढाउन थालेको छ। प्राविधिक विषय पढाउन गाउँपालिकाले वार्षिक रूपमै छात्रवृत्तिका लागि बजेट विनियोजन गर्दै आइरहेको छ।
गाउँपालिकाले २०७२ सालमा २४ जना विद्यार्थीलाई १० लाख रुपियाँ छात्रवृत्ति प्रदान गरेको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। गरिब, दलित र पढाइमा राम्रो अक्क ल्याउने विद्यार्थीलाई प्राविधिक विषय पढ्न छात्रवृत्ति दिइएको उनले बताए।
गाउँपालिकाले छात्रवृत्ति दिएपछि पञ्चेश्वर गाउँपालिका-१ का मुकेश सार्कों कैलालीस्थित टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा बाली विज्ञानको पढाइ गर्दै छन्। पञ्चेश्वर गाउँपालिका-२ को संगीता साउदको घरको आर्थिक अवस्था कमजोर भएकाले गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेपछि उनी कञ्चनपुरस्थित लोटस इन्स्टिच्युटमा कृषि प्राविधिकको पढाइ गर्दै छिन्।
गाउँपालिकाले छात्रवृत्ति दिएपछि पञ्चेश्वर गाउँपालिका-२ का मुकेश औजो पनि डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढ्दै छन्। छात्रवृत्ति पाउने अधिकांश विद्यार्थी जिल्लाबाहिर गएर प्राविधिक विषयको अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महामलसिंह घटालले बताए।
कृषि, पशु, सिभिल इन्जिनियर विद्युतीय र कम्युटर प्राविधिक विषय पढ्न गाउँपालिकाले छात्रवृत्ति दिँदै आएको उनले जानकारी दिए। प्राविधिक शिक्षा हासिल गरेर फर्किएका विद्यार्थीलाई गाउँपालिकामै रोजगारी दिने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष चन्दले जानकारी दिए। कृषि, पशु र सिभिल इन्जिनियरको पढाइ पूरा गरेर आउने विद्यार्थीलाई तुरुन्तै रोजगारी प्रदान गर्ने उनले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: ३० कार्तिक २०८१, शुक्रबार