नेपालमै २४० किमी रेन्जको इलेक्ट्रिक स्कूटर बनाउन लगानीकर्ता खोज्दै ग्रन्थ इभी, पहिलो डिजाइन सार्वजनिक

  • Technology Khabar | २५ कार्तिक २०८१, आईतवार
नेपालमै २४० किमी रेन्जको इलेक्ट्रिक स्कूटर बनाउन लगानीकर्ता खोज्दै ग्रन्थ इभी, पहिलो डिजाइन सार्वजनिक

काठमाडौं ।

नेपालको दुई पांग्रे विद्युतीय सवारीसाधन आयातकर्ता ग्रन्थ इभीले नेपालमै दुई पांग्रे विद्युतीय सवारीसाधन उत्पादन गर्नका लागि लगानीकर्ता र रणनीतिक साझेदारहरू खोजिरहेको जनाएको छ।

ग्रन्थ इभीले नेपालमा आगामी दिनमा निर्माण गरिने इलेक्ट्रिक स्कुटर २४० किमि रेन्ज दिने किसिमको हुने र बजार मूल्य २ लाख ८९ हजार रुपैयाँमा उपलब्ध हुने दाबी गरेको छ।

कम्पनीले एउटा महत्वपूर्ण मोडमा पुगेको भन्दै नेपालभरी विद्युतीय सवारीसाधनलाई पुर्याउन इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारहरू खोजिरहेका बताएको छ।

ग्रन्थ इभीले हाल आयातीत स्कुटरको बिक्रि वितरण गर्दै आएको छ।

कम्पनीले नेपाल भित्रै स्थानीय रूपमा निर्माण गरिने परियोजनाले रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने दाबी गरेको छ।

कम्पनीले हाल नेपालमा निर्माण क्षमतालाई विस्तार गर्नुपर्नेमा जोड दिँदै भनेको छ, “हाम्रो उत्पादन र वितरण सञ्जाललाई अझै मजबुत बनाएर, नेपालको विभिन्न भूभागका लागि विशेष रूपमा डिजाइन गरिएको यो स्कुटर २४० किमि रेन्ज दिने हुनेछ, यो स्कुटर नेपालमा रु २,८९,००० मा उपलब्ध हुनेछ, र यसबाट हामीले आधुनिक विद्युतीय स्कुटरको मागलाई पुरा गर्न सक्छौं भन्ने हामीले आशा लिएका छौँ।”

आयातित स्कुटरको माग उच्च रहेको दाबी गर्दै ग्रन्थ इभीले यो पुरा गर्न नेपालमा निर्माण प्रक्रिया विस्तार गर्न आवश्यक भएको जिकिर गरेको छ।

नेपालमा नै तयार पार्ने स्कुटरमा ब्याट्री र मोटरमा ७–१० वर्षको वारेन्टी हुने र यो नेपालका कुनै पनि उकालो दुई जना बोकेर सजिलै चढ्न सक्षम हुने बताएको छ।

“थप लगानीले हामीलाई यो गुणस्तर कायम राख्न र जनमासमा यसको उत्पादन पुर्याउन मद्दत गर्नेछ,” कम्पनीले भनेको छ।

यसैगरी नेपालको दुई पांग्रे विद्युतीय सवारीसाधन बजारमा नेतृत्व गर्ने लक्ष्य रहेको भन्दै यसलाई हासिल गर्न, दिगो र रणनीतिक रूपमा विस्तार गर्न आर्थिक स्रोत र रणनीतिक दृष्टिकोण दिन सक्षम लगानीकर्ताहरूको आवश्यक रहेको जारी विज्ञप्तीमा जनाएको छ।

यसका साथै ग्रन्थ इभीले नेपालमा नै निर्माण गरिने आफ्नो पहिलो दुई पांग्रे विद्युतीय स्कूटरको प्रारम्भिक डिजाइन समेत सार्वजनिक गरेको छ।

प्रकाशित: २५ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...