आवेदन सङ्कलन गरेको चार वर्षपछि गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

  • Technology Khabar | २३ कार्तिक २०८१, शुक्रबार
आवेदन सङ्कलन गरेको चार वर्षपछि गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

काठमाडौं ।

आवेदन सङ्कलन गरेको चार वर्षपछि गुल्मीमा वडास्तरबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ। २०७६ सालमा जिल्लाका सबै स्थानीय तहमा घुम्ती टोलीमार्फत एक लाख २९ हजार ३५२ जनाको विवरण सक्कलन भएको थियो।

विवरण सङ्कलन भएकाको परिचयपत्र बनेर आएकाले वडास्तरबाटै वितरण गर्न लागिएको गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। इस्मा गाउँपालिका-२ का २१ वर्षीय नामदेव खनाल, धुर्कोट गाउँपालिका-२ का २७ वर्षीय मानबहादुर महतलाई राष्ट्रिय परिचयपत्र प्रदान गरी सुरुवात गरिएको गैरेले जानकारी दिए।

गुल्मीदरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा पनि वितरण भइरहेको उनको भनाई छ। अन्य स्थानीय तहमा पनि केही दिनपछि वितरणको कार्य अगाडि बढाइने गैरेले बताए।

जिल्लामा चार समूह बनाएर परिचयपत्र वितरण कार्य गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि ६० हजारभन्दा बढीको आवेदन सङ्कलन भएको छ।

आवेदन सक्कलन भएकामध्ये ४३ हजारको राष्ट्रिय परिचयपत्र बनेर आए पनि झन्डै छ हजार मात्रै परिचयपत्र वितरण भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। परिचयपत्र बनेर आएकाको मोबाइलमा म्यासेज गए पनि परिचयपत्र लिन नआएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार