भरतपुरको मुख्य राजमार्गमै छैन सिसी क्यामरा

Technology Khabar २२ कार्तिक २०८१, बिहीबार

भरतपुरको मुख्य राजमार्गमै छैन सिसी क्यामरा
फाइल तस्बिर

काठमाडौं ।

भरतपुरको मुख्य राजमार्गमा सिसी क्यामरा जहान नहुँदा अपराधलगायत घटनाको अनुसन्धान गर्न समस्या परेको छ। भरतपुरको गोदाङदेखि नारायणगढसम्मको छ लेनको सडक निर्माण गर्ने भन्दै चार वर्षअगाडि हटाएको सिसी क्यामरा अहिलेसम्म जडान गरिएको छैन। बिग्रने र काम गर्न छाडेपछि पहिला नै समस्यामा आएको थियो।

सडक विस्तारका क्रममा क्यामरा हटाएपछि अहिलेसम्म जडान नहुँदा अनुसन्धानमा समस्या आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतम मिश्रले जानकारी दिए। “काठमाडौं जाने र पूर्वपश्चिम राजमार्ग यही जिल्लामा भएका कारण सवारी दुर्घटना अन्य जिल्लामाभन्दा धेरै यहाँ हुने गरेको छ।

आपराधिक गतिविधिलाई पनि नियन्त्रण गर्न सिसो क्यामराले अनुसन्धानमा धेरै सहयोग पुग्ने थियो,” उनले भने, तर बर्सौंदेखि क्यामरा नहुँदा प्रहरीलाई काम गर्न समस्या भएको छ। चितवनको मोवाखोलादेखि लोथरसम्मको ९० किलोमिटर सडक मुख्य राजमार्गमा पर्छ।”

पूर्व र पश्चिमबाट आएका राजधानी जान आएका सवारीसाधनको चाप यहाँ पर्ने भएकाले सिसी क्यामरा अति आवश्यक छ। सिसी क्यामरा जडानका लागि भरतपुर महानगरपालिकाले बजेट विनियोजन गरेर ठेक्का प्रक्रियामा गएको जानकारी भए पनि काम सम्पन्न नभएको उनले बताए।

सुरक्षाको संवेदनशीलताका लागि सिसी क्यामरा राजमार्ग, मुख्य सडक चोकमा हुनुपर्ने प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल बताउँछन्।

भरतपुर महानगरपालिकाले महानगरभित्रका सडकसहित सार्वजनिक स्थलमा सिसी क्यामरा जडान गर्न चालु आर्थिक वर्षमा आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। महानगरबासीको सुरक्षाका लागि सिसी क्यामरा जडान गर्न सो रकम विनियोजन गरी ठेक्का प्रक्रियाबाट काम अगाडि बढेको उपप्रमुख चित्रसेन अधिकारीले गरेको बताए। अहिले नमुना परीक्षणका लागि काम भइराखेको उनले बताए।

भरतपुर महानगरबाहेक भरतपुर र रत्ननगर जोड्ने राजमार्गको सिसी क्यामरा आठ वर्षअगाडि जोडिएको थियो तर अहिले त्यो क्यामराले काम गर्न छाडेको धेरै वर्ष बितिसकेको छ तर मर्मत तथा नयाँ जडान भएको छैन।

वन र वन्यजन्तुको संरक्षणका लागि कडाइ गर्न २०७३ असार ३० गतेबाट सिसी क्यामराले निगरानी थालेको थियो। त्यसको एक महिना निकुञ्जका अधिकारी, सेना, वनरक्षक तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागितामा सडकमै कार्यक्रम गरेर प्रचार गरिएको थियो। अहिले सिसी क्यामरा कति वटा सञ्चालनमा छ भन्ने जानकारीसमेत छैन।

वन्यजन्तुको कोरिडोर क्षेत्र भएकाले सवारीसाधनले वन्यजन्तुलाई ठक्कर दिएर भागेमा कारबाही गर्न सजिलो होस् भनी राखिएको क्यामराको प्रयोगमा छैन। संरक्षणकर्मी रामपृत यादबले वन्यजन्तु र जैविक विविधताका विषयमा मानिस अभौ संवेदनशील नभएकामा चिन्ता व्यक्त गरे।

आजको गोरखापत्रबाट

प्रकाशित: २२ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया