Technology Khabar २१ कार्तिक २०८१, बुधबार
काठमाडौं ।
आगामी पुसको अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८१/८२ को स्टार्टअप उद्यम कार्यक्रम अन्तर्गत छनोटमा परेका परियोजनालाई आगामी पुस महिनादेखि कर्जा वितरण गर्ने तयारी गरेको हो।
स्टार्टअप उद्यम कर्जा वितरण गर्न प्रतिष्ठानले गत भदौमा माग गरेको आवेदनमा पाँच हजार १६१ उद्यमीले परियोजना प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेस भएका परियोजनालाई अन्तिम चरणको छनोट गरेर स्टार्टअप उद्यम कर्जा वितरण गरिने प्रतिष्ठाले जनाएको छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले सूचीकृतमा परेका परियोजना छोटो सूची तयार पार्ने काम भइरहेकाले पुस अन्तिमदेखि कर्जा वितरण गर्ने तयारी गरिएको गरिएको जानकारी दिए।
यस वर्ष पाँच सयदेखि ६ सय परियोजनालाई स्टार्टअप उद्यम कर्जा वितरण गरिने उनले जानकारी दिए। परियोजनालाई तीन प्रतिशत ब्याजमा पाँच वर्षका लागि अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रवाह गरिने उनले जानकारी दिए।
उद्यमीलाई कर्जा उपलब्ध गराउन चालु आवको बजेटमार्फत एक अर्ब रुपियाँ विनियोजन गरिएको थियो। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रवाह गर्ने स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत प्रवाह हुने कर्जा राष्ट्रिय वाणिज्य बैकबाट प्रदान गर्ने गरी गत भदौमा सम्झौता गरिसकको छ।
कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग पनि सम्झौता गरेको थियो। राष्ट्रिय वाणिज्य बैंकमार्फत छनोटमा परेका परियोजनाले कर्जा वितरण गरिनेछ।
स्टार्ट अप उद्यमका कर्जाका लागि कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम उत्पादनमूलक उद्यम, बनमा आधारित उद्यम पर्यटन प्रबर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम मानव स्वास्थ्य सेवासँग सम्बधित उद्यम पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यम विद्युतीय सवारीसाधन तथा अटोमोबाइलसँग सम्बन्धित लगायतका १९ वटा क्षेत्रबाट आवेदन परेको प्रतिष्ठानले जनाएको छ।
स्टार्टअप कर्जाका लागि उद्योग व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, बार्षिक कारोबार १५ करोडभन्दा बढी ननाघेको र सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेका मात्रै योग्य हुने कार्यविधिमा उल्लेख छ। प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका उद्यमले मात्र यो कर्जा पाउने पनि कार्यविधिमा उल्लेख छ।
नवीनतम ज्ञान सोन, सिप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै गत वर्षदेखि सहुलियतपूर्ण कर्जाको वितरण गरिँदै आएको छ। गत आवमा एक हजार ६५८ परियोजनामध्ये कर्जाका लागि प्रतिष्ठानले १८३ उद्यमीलाई सिफारिस गरेको थियो। त्यसमध्ये जम्मा १६५ स्टार्टअप उद्यमीलाई कर्जा प्रवाह भइसकेको छ।
गत वर्ष स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरेको थियो । गत वर्ष पाँच लाखदेखि २० लाख रुपियाँसम्म उद्यम कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ। चार वर्षदेखि बजेटमा घोषणा हुँदै आएको स्टार्टअप उद्यम कार्यक्रम गत वर्षदेखि कार्यान्वयनमा आएको थियो।
आजको गोरखापत्रबाट
प्रकाशित: २१ कार्तिक २०८१, बुधबार