Technology Khabar १६ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार छ सय दुई मेगावाट बराबर रहेको छ। लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६.२५ बजे उक्त पिक डिमाण्ड रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार चार सय ३८ मेगावाट थियो गत वर्षको भन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड एक सय ६४ मेगावाट बढी हो। तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो। लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहबाट उत्पादन गरी आपूर्ति गरिएको थियो।
देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको दुई सय ५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ।
गत वर्ष लक्ष्मीपूजा पिक समयमा पाँच सय १७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षतिपुग्दा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब दुई सय मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो ।
लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार आठ सय ५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड एक हजार नौ सय ५५ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड तीन सय ९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष तीन सय ६६ मेगावाट थियो।
ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटिएका थिए।
कार्यकारी निर्देशक घिसिङले बिगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमाण्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको बताए। कार्यकारी निर्देशक घिसिङले भने, “आठ वर्षअघि लक्ष्मीपूजाको दिनको विद्युत् माग व्यवस्थापनका लागि आयात हुने गरेकोमा केही वर्षदेखि आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको हो, बाढीपहिरोले जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति नपुर्याएको भए यो वर्ष लक्ष्मीपूजाको दिन झण्डै एक हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा हुन्थ्यौं ।”
उनले लोडसेडिङ अन्त्य भई निरन्तर विद्युत् आपूर्ति हुनथालेपछि र विद्युतीकरण व्यापक रुपमा गरिएपछि हरेक वर्ष देशभित्रको विद्युत् माग बढिरहेको बताए। रासस
प्रकाशित: १६ कार्तिक २०८१, शुक्रबार