बिना अनुमति आफ्नो सूचना सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी उपचारमा जाने रास्वपा उपाध्यक्ष डीपी अर्यालको चेतावनी

Technology Khabar १६ कार्तिक २०८१, शुक्रबार

बिना अनुमति आफ्नो सूचना सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी उपचारमा जाने रास्वपा उपाध्यक्ष डीपी अर्यालको चेतावनी
फाइल तस्बिर

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल (डोलप्रसाद अर्याल) ले बिना अनुमति आफ्नो सूचना सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

अर्यालले आफ्नो एक्स (साविकको ट्विटर) एकाउन्टमा एउटा स्टाटस राख्दै यस्तो चेतावनी दिएका हुन्। उनले केही दिनयता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग आफूले गरेको भेटघाटलाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो? यो बहसको विषय बनिरहँदा सभापति कानूनी लडाईंमा हुनुहुन्छ। र उहाँले कानूनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौं’, उनको स्टाटसमा लेखिएको छ।

सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु आफ्नो जिम्मेवारी नै रहेको र जिम्मेवारी पूरा गर्दा एक पक्षीय ढंगबाट गलत मनसायका साथ गरिएको प्रचारप्रति दुःखित रहेको उनको स्टाटसमा उल्लेख गरेका छन्।

‘बिना अनुमति अरुको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध-संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २५७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २८८ मा विद्युतीय माध्यमद्वारा गोपनियता भंग गर्न नहुने व्यवस्था छ’, उनले स्टाटसमा प्रस्ट्यएका छन् ‘मैले मेरो निजी टेलिफोनबाट को सँग, के-के संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतबस नियोजित ढंगले गैर-कानूनी र अनधिकृत रुपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बद्नियतका साथ वैयक्तिक गोपनियता माथि दखल पुऱ्याएको हुँदा निजलाई कानूनी कारवाही गरियोस्। कानूनी प्रक्रियामा जाने नै छु।’

प्रकाशित: १६ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया