Technology Khabar १६ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
ताइवान सेमीकन्डक्टर म्यान्युफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले बनाएको चिप ह्वावेको एआई प्रोसेसरमा फेला परेका कारण चीनस्थित चिप डिजाइनर सोफ्गोलाई चिप आपूर्ति निलम्बन गरेको छ।
सोफ्गोले टीएसएमसीसँग ह्वावेको एसेन्ड ९१०बी मा फेला परेको जस्तै चिप अर्डर गरेको थियो। ह्वावे अमेरिकी राष्ट्रिय सुरक्षाको कारण प्राविधिक उपकरणहरू खरिद गर्नबाट प्रतिबन्धित छ। तर उक्त चिप कसरी ह्वावेको उत्पादनमा पुग्यो भन्ने स्पष्ट हुन नसकेको रोयटर्सले उल्लेख गरेको छ।
सोफ्गोले आइतबार आफ्नो वेबसाइटमा विज्ञप्ति जारी गर्दै उसले सबै कानुनहरू पालना गरेको र ह्वावेसँग कुनै पनि व्यावसायिक सम्बन्ध नराखेको बताएको छ। क्रिप्टोकरेन्सी माइनिङ उपकरण कम्पनी बिटमेनसँग सम्बन्धित सोफ्गोले यस घटनामा आफ्नो संलग्नता नरहेको प्रमाणित गर्न टीएसएमसी लाई विस्तृत अनुसन्धान रिपोर्ट बुझाएको छ।
टीएसएमसी र ह्वावेले यस विषयमा प्रतिक्रिया दिएका छैनन्। अमेरिकी वाणिज्य विभागले भने यस घटनाबारे जानकारीमा रहेको तर कुनै अनुसन्धान जारी छ कि छैन भन्ने विषयमा टिप्पणी गर्न नसकिने बताएको छ।
प्रविधि अनुसन्धान संस्था टेकइन्साइट्सले टीएसएमसी चिप ह्वावेको एसेन्ड ९१०बी मा फेला पारेको थियो र उक्त मल्टि-चिप प्रोसेसरलाई खोलेर जाँच गर्दा थाहा भएको एक स्रोतले मङ्गलबार रोयटर्सलाई बताए। उक्त तथ्य पत्ता लागेपछि करिब दुई हप्ता अगाडि टीएसएमसीले अमेरिकालाई यसको जानकारी गराएको थियो।
त्यसै समयतिर टीएसएमसीले एक ग्राहकलाई चिप आपूर्ति पनि रोकिदिएको थियो, जुन चिप ह्वावेको उत्पादनमा पुगेको थियो। सो ग्राहकको नाम स्रोतले सोफ्गो भएको पुष्टि गरेको छ।
टीएसएमसीले ताइवान र अमेरिकी अधिकारीहरूलाई जानकारी गराएर विस्तृत अनुसन्धान सुरु गरेको छ। विश्वको सबैभन्दा ठूलो ठेक्का चिप निर्माता टीएसएमसीले सेप्टेम्बर २०२० पछि ह्वावेलाई चिप आपूर्ति नगरेको र यस सम्बन्धमा उसले अमेरिकी वाणिज्य विभागसँग “स्वेच्छिक रूपमा संवाद गरेको” यसै साता जनाएको छ। “हाम्रो जानकारी अनुसार टीएसएमसी हाल कुनै अनुसन्धानको विषय बनेको छैन,” कम्पनीको वक्तव्यमा भनिएको छ।
शेन्जेनमा आधारित ह्वावेले मंगलबार वक्तव्य जारी गर्दै २०२० मा अमेरिकाले नयाँ निर्यात नियमहरू लगाएपछि टीएसएमसी मार्फत कुनै चिप निर्माण नगरेको बताएको छ।
सन् २०२० मा, अमेरिकाले ह्वावेलाई विदेशी उत्पादित चिपहरूको आपूर्तिमा रोक लगाउने आफ्नो अधिकार विस्तार गरेको थियो, जसमा अमेरिकी प्रविधि वा सफ्टवेयरको प्रत्यक्ष उत्पादन भएका टीएसएमसीका चिपहरू पनि समावेश थिए।
यसअघि टीएसएमसीले ह्वावेको एसेन्ड श्रृंखलाका लागि चिपहरू आपूर्ति गरेको स्रोतहरूले यसै वर्षको सुरुमा रोयटर्सलाई बताएका थिए। २०२२ मा सार्वजनिक गरिएको एसेन्ड ९१०बी चिपलाई चिनियाँ कम्पनीको सबैभन्दा उन्नत एआई चिप मानिएको छ।
प्रकाशित: १६ कार्तिक २०८१, शुक्रबार